राष्ट्रपति सीलाई विमानस्थलमा भव्य स्वागत, राष्ट्रपति भण्डारी र सीबीच भेटवार्ता सम्पन्न (फोटोफिचर)

काठमाडौं, २५ असोज राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनफिङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गरे ।

त्यसअघि राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर राष्ट्रपति सीलाई स्वागत गरेकी थिइन् । चीनका राष्ट्रपति सीको काठमाडौँ आगमनसँगै उनको राजकीय भ्रमण प्रारम्भ भएको छ । उनीहरूलाई चिनियाँ विशिष्ट अतिथिको स्वागतमा पञ्चकन्याले साथ दिएका थिए ।

विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारीले पनि राष्ट्रपति सीलाई स्वागत गरेका थिए ।

नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो । चिनियाँ राष्ट्रपति सीको नेपाल बसाइलाई आनन्ददायी बनाउन भव्य तयारी गरिएको छ । सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ । विमानस्थलकै मूलद्वार राष्ट्रपति सीको स्वागतका लागि आकर्षक पारिएको छ ।

विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए ।

विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिङ्गारिएको छ । विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो ।

राष्ट्रपति भण्डारी र सीबीच भेटवार्ता सम्पन्न

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङबीच द्वपक्षीय वार्ता सम्पन्न भएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको वार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको बताइएको छ। द्विपक्षीय छलफलका क्रममा राष्ट्रपति सीले विमानस्थलमा स्वागतमा आयोजित समारोहबाट आफू खुसी भएको कुरा व्यक्त गरेका थिए।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका हुन्। राष्ट्रपति सी आज नै राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार