एनआरएनएको मतदान प्रक्रिया सम्पन्न, पन्त र आचार्यको कडा प्रतिस्पर्धा- मतगणना जारी

काठमाडौं, ३० असाेज — गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनको लागि मतदान प्रक्रिया सम्पन्न भएको छ । मतदानमा २३४४ मत खसेको छ । निर्वाचन आयोगद्धारा दिएइको जानकारी अनुसार ९२ प्रतिशत मतदान भएको हो।

आज राती नै मत परिणाम आउने गरी गणनाको तायारी गरिएको छ। मतदान ४२ पदका लागि भएकोमा केहि निर्विरोध भएका छन्। आज हुने भनिएको समापन समारोह शुक्रबार बिहन गरिने भएको छ।

बिहीबार बिहान १० बजेबाट हायत होटलमा मतदान प्रक्रिया सुरु भएको थियो । आगामी दुई वर्षका लागि नेतृत्व चयनका लागि उत्साहका साथ मतदान भएको हो। बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका काम सकिएको भएपनि साँझबाट शुरु हुने भनिएको मतदान रोकिएको थियो ।

संघका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य दुई प्यानल बनाएर मैदानमा उत्रिएका छन् । त्यस्तै चार जना उपाध्यक्षका लागि नौजनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा हिक्मतबहादुर थापा, किरणविक्रम थापा, अर्जुनकुमार श्रेष्ठ, नरेन्द्रबहादुर भाट, बद्री केसी, मन केसी, धर्मराज अधिकारी, सोनाम लामा र केशव पौडेलको उम्मेदवारी परेको हो ।

एक महिला उपाध्यक्ष पदका लागि दुईजनाले उम्मेदवारी दिएका छन् । सपिला राजभण्डारी र रविना थापाको उम्मेदवारी परेको छ ।

त्यस्तै एक महासचिव पदका लागि जानकी गुरुङ र हेमराज शर्माको उम्मेदवारी परेको हो । दुई सचिव पदमा दीपकप्रसाद ओली, सुष्मा लिम्बू, अभिमानसिंह बस्नेत, शिवकुमार बरुवाल, गौरीराज जोशी, आरके शर्मा, विनय अधिकारीले सचिवमा उम्मेदवारी दिएका हुन् ।

एक कोषाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ । सोमनाथ सापकोटाले साँझ उम्मेदवारी फिर्ता लिएका छन् । सापकोटाले फिर्ता लिएसँगै कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सुदन थापाको प्रतिस्पर्धा हुने भएको छ ।
सह कोषाध्यक्षमा लोकप्रसाद दाहाल र गोविन्दप्रसाद गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै एक महिला संयोजकका लागि चारजनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गराउनेमा प्रमिलाखड्का बस्नेत, भोमादेवी लिम्बु, संगीता मरहठ्ठा शर्मा र जुनु गुरुङ छन् ।
युवा संयोजकमा एक पदका लागि तीनजना हिमाल गुरुङ, स्वतन्त्र प्रताप शाह र सुदीप कार्कीले उम्मेदवारी दिएका छन् ।   त्यस्तै क्षेत्रीय संयोजक, उपसंयोजक, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजकमा निर्वाचन हुनेछ ।
निर्वाचन कमिटीका अनुसार क्षेत्रीय उपसंयोजक र क्षेत्रीय युवा संयोजक (अफ्रिका) का लागि उम्मेदवारी परेन । विभिन्न देश र प्रशान्तको क्षेत्रीय संयोजक, उपसंयोजक, क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजकमा उम्मेदवारी परेको छ । निर्वाचन कमिटीका सदस्य पाण्डेका अनुसार मनोनयन दर्ता सकिएर उम्मेदवारलाई नाम फिर्ताका लागि चार बजेसम्मको समय दिइएको थियो ।
‘सुरुमा ७७ जनाको उम्मेदवारी परेको थियो,’ निर्वाचन समितिका सदस्य पाण्डेले भने, ‘अन्तिम समयमा दुईजनाले नाम फिर्ता लिएका छन्, उम्मेदवारको संख्या ७५ पुगेको थियाे ।’

निर्वाचनमा करीब २ हजार ४ सय मतदाता सहभागी थिए । बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका प्रतिनिधि सहभागी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार