काठमाडौं – जापानका नवनियुक्त व्यापारमन्त्रीमाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका छन् । व्यापारमन्त्री इसु सुगावाराले टोकियोका आफ्ना मतदातालाई महँगो खरबुजा, सुन्तला तथा गँगटो उपहार दिएका विभिन्न सञ्चारमाध्यमले समाचार सार्वजनिक गरेका थिए ।
उनले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन प्रस्ताव गरेका बताइएको छ । जापानको निर्वाचन कानुनअनुसार कुनै पनि राजनीतिज्ञले आफ्ना मतदातालाई चन्दा तथा उपहार दिन पाउँदैनन् ।
सुगावाराको सहयोगीले एकजना मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार जापानी येन दिन खोजेको लेखेपछि यी आरोपहरू सार्वजनिक हुन थालेका थिए । सुगावारामाथि आरोप लगाउँदै जापानी साप्ताहिक पत्रिका शुकान बुनसुनले पहिलोपटक समाचार सार्वजनिक गरेको हो ।
जापानमा मृतकको परिवारलाई पैसा दिनु सामान्य चलन हो । तर पत्रिकाले सुगावाराले पठाएका उपहारका सूची र उनलाई धन्यवाद दिँदै लेखिएका विभिन्न पत्र प्रकाशित गरेको थियो ।
सुगावाराले शुक्रबार आफ्नो कार्यले देशको निर्वाचन कानुन उल्लंघन भएरनभएकोबारे अध्ययन गरिरहेको बताएका थिए । यद्यपि, उनले आफूमाथि आरोप लगाइएपछि राजीनामा दिनु उचित भएको बताएका हुन् ।
‘मेरो समस्याका कारण संसद्मा हुने छलफल प्रभावित होस् भन्ने म चाहन्नँ,’ सुगावाराले बताए । जापानी प्रधानमन्त्री सिन्जो अबेले ‘सुगावारालाई नियुक्त गरेको जिम्मेवारी आफूले लिने बताउँदै भनेका छन्, ‘म जापानी नागरिकहरूसँग क्षमा चाहन्छु ।’ – कान्तिपुर दैनिक