https://www.saurabhgroup.com/

महराको बयान सकियो, थुनछेकको निर्णय आइतबार

काठमाडौं,१५ कात्तिक – जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका पुर्व सभामुख कृष्णबहादुर महराको बयान शुक्रबार सकिएको छ । जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको थुनछेक बयान भएको हो ।

महरालाई आइतबार बिहान १० बजे उपस्थित गराउने गरी अदालतले छाडेको छ । महरालाई प्रहरीले पुनः ग्राण्डी अस्पताल लगेका छन् ।

जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलाशमा आज महराको अदालती बयान सकिएको र आइतबार थुनछेक बहस हुने तय भएको हो। काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार आज ३ बजेसम्म कार्यलय समय भएपनि ५:३० बजेसम्म बसेर बहस सकिएको र थुनछेक बहसका लागि समय नभएकाले आइतबार हुने जानकारी दिए।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरेको थियो। महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो। उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ।

निर्वातमान सभामुख महरालाई पछिल्लो पटक यही कात्तिक सात गते थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरिएको थियो जुन हिजो सकिएको थियो।

संसद् सचिवालयका एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। अदालतमा बहस भएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने फैसला हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार