सरकारले सम्झौता उल्लंघन गरेको भन्दै डडेल्धुराबाट डा. केसीको अनशन सुरु

काठमाडौँ —  चिकित्सा क्षेत्र सुधार एवं सुशासनको माग गर्दै आएका प्रा.डा. गोविन्द केसीले सरकारले सम्झौता उल्लंघन गरेको भन्दै सोमबारदेखि डडेल्धुरामा अनशन सुरु गरेका छन् । यो उनको १७ औं अनशन हो । ७ बुँदे मागसहित अनशन सुरु गरेका उनले त्यसअघि डडेल्धुरा अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।

सोमबार बेलुकासम्मको अल्टिमेटम दिएका डा। केसीले सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएकाले पुनः अनशन बस्नुपरेको बताएका छन् । डडेल्धुरा अस्पताल नजिकै रहेको निर्मल क्लिनिक फार्मेसी भएको घरमा उनी अनशन बसेका हुन् । अनशन सुरु गर्नुअघि उनले एक हाफ चाउमिन र ५० ग्राम मिठाई खाजा खाएका थिए ।

०७५ साउनमा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन, विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्ति हालको प्रक्रिया रोकेर पराशर कोइराला नेतृत्वको समितिको सुझावअनुरूप गर्नुपर्ने, आन्दोलनरत मेडिकल विद्यार्थीका माग पूरा हुनुपर्ने, निजी मेडिकल कलेजले अवैध रूपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गरिनुपर्ने माग उनले राखेका छन् ।

अर्बौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरूलाई फौजदारी कानुनबमोजिम कारबाही गर्नुपर्ने, शुल्क र सिट संख्या वृद्विको निर्णय तत्काल खारेज गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्‍याउनुपर्ने, प्रदेश २ र ४ का साथै डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने, क्यान्सर लगायत महँगा औषधि सस्तो मूल्यमा उपलब्ध गराउनुपर्ने, कर्मचारी समायोजनका कारण सेवा अवरुद्ध भएका डडेल्धुरा अस्पताललगायतका अस्पताल र स्वास्थ्य संस्थामा तत्काल दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्था गर्नुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा दलीय भागबन्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरूलाई नियुक्त गर्नुपर्ने माग पनि उनका छन् । — कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार