हेप्नेको पनि एउटा सिमाहुन्छ नि ल हेर्नुस त आँगनमै सीमास्तम्भ

काठमाडौं — वयोवृद्ध वीरबहादुर सुब्बा त्यसबेलादेखि मेचीनगर–११ भान्साखोलामा छन्, जब जंगल फडानी गरेर बसोबास सुरु भयो । जंगलले ढाकेको क्षेत्रमा खोरिया फाँडेर बस्ती बसाउनेमा उनी अगुवा हुन् ।

२०३२ देखि उनले बसाएको बस्ती अहिले भारतको जमिन बनेको छ । भारतले करिब ३५ वर्षअघि जमिन अतिक्रमण गरेर रातारात सीमास्तम्भ गाडेको थियो । २०४२ सालतिर यहाँ नापी भएको स्थानीय पाकाहरूको भनाइ छ । त्यही क्रममा भारतले एकलौटी रूपमा नेपाली भूभाग मिचेर सीमास्तम्भ गाडेको सुब्बाले दाबी गरे । ‘रातारात पिलर गाडेछन्,’ उनले भने, ‘आफ्नो माटो भारतले लगेको पत्तै पाइएन ।’

भूमि अतिक्रमण भएको थाहा पाएपछि स्थानीयले विरोध गरे । कतैबाट सुनुवाइ भएन । वीरबहादुरसँगै करिब १५ घरधुरी भारतीय जमिनमा परेको छ । भारतले आफ्नो दाबी गरेको यो जमिनलाई नेपालीहरूले नै कमाइरहेका छन् । तर, मेचीनगरपालिकाले विवादित यो जमिनमा स्थानीयका लागि पानी, बिजुली, सडक आदि पूर्वाधारमा भने लगानी गरिरहेकै छ । स्थानीय अमृत लिम्बू अतिक्रमित भूमि फिर्ता हुनुपर्छ भन्ने पक्षमा छन् ।

स्थानीयका अनुसार करिब ६० बिघा जमिन भारतले अतिक्रमण गरी सीमास्तम्भ गाडेको पाइएको छ । नापी भएका बेला भारतले ५० र ५१ नम्बरका स्तम्भ साविकको नेपाली जमिनभन्दा करिब ५ सय मिटर वरै गाडेको हो ।

स्थानीय कृष्णप्रसाद उप्रेतीका अनुसार नेपाल र भारतको संयुक्त टोलीले यो क्षेत्रको नापी गरेको थियो । ‘भारतीय टोलीले एकपक्षीय रूपमा सिमाना मिचेर स्तम्भ राख्दा नेपाली अधिकारीको टोली दार्जिलिङ घुम्न गएको थियो । पहिला नेपालको सिमाना मेची खोलासम्म थियो,’ उनले भने, ‘अहिले मेचीभन्दा ५ सय मिटर वरसम्म मात्रै सिमाना कायम छ ।’

पुराना बासिन्दा भजन चौधरीका अनुसार ०२९ सालताका भेषबहादुर थापा आयोगले अस्थायी धनीपुर्जा उपलब्ध गराएको थियो । तर, ०४२ सालमा भारतको अतिक्रमणपछि धनीपुर्जा स्थायी बन्ने प्रक्रिया अलपत्र छ । ‘हामी हिजो आएर बसेका होइनौं,’ चौधरीले भने, ‘५० वर्षदेखि बस्दै आएका छौं ।’ — कान्तिपुर दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार