सीमा विवाद अलपत्र छाडेर परराष्ट्र मन्त्री गृह जिल्लामा

काठमाडौं, ३ मङ्सिर— । पछिल्लो समय छिमेकी राष्ट्रहरुले सीमा मिचेको विषय पेचिलो बन्दै गइरहेको छ । भारत र चीनले नेपालका सीमा मिचेर नेपालमाथि थिचोमिचो गरिरहे पनि सरकार भने मौन जस्तै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भूमिबाट विदेशी सेना हटाउने दावी गरे पनि परराष्ट्र मन्त्रालयले गैरजिम्मेवार वक्तव्य दिँदै आफूलाई निरीह बनाउँदै लगेको छ । भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको देखिए पनि नेपाल सरकार भने स्पष्ट देखिएको छैन । सरकारले झारा टार्ने शैलीमा विज्ञप्ति जारी गर्दै कालापानी मात्र मिचिएको भन्ने उल्लेख गरेको छ । चीनले मिचेको जमिनको बारेमा पनि केहि बोलेको छैन।

परराष्ट्र मन्त्रालयले गैरजिम्मेवारी पूर्ण तरिकाले बिना हस्ताक्षर र बिना छाप विज्ञप्ति निकाल्दै पन्छिने काम गरेको छ । यो नेपाली स्वाभीमानका लागि अत्यन्त लज्जास्पद भएको समेत सत्तारुढ दल नेकपाकै नेताहरुले बताएका छन् । परराष्ट्रका कर्मचारीहरुले राजा महेन्द्रले भारतलाई कालापानी दिएको भन्ने गम्भीर र आपत्तिजनक भनाइ प्रस्तुत गरेका छन् ।

तर संसदीय समितिले केरकार गर्न खोजेपछि उनी गायब भए। नेकपाका स्थायी कमिटि सदस्य भीम रावलले त प्रमाण पेश गर्न भन्दै चुनौती दिएका थिए । हचुवामा बोलेको भन्दै उनले त्यस्तालाई कार्वाही गर्नुपर्नेसमेत बताएका थिए। सरकारले यसबारे केही बोलेको छैन । देशको भूमिमा अर्काले हस्तक्षेप गर्दा सरकार चुपचाप बस्नु आफैले निर्लज्ज उदाहरण हो ।

लिपुलेख सहित कालापानीको विषयले चरम उत्कर्ष लिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा सबै दल एक भएर सीमा बचाउनु पर्ने र सरकारलाई कुटनीतिक पहल गर्न सुझाव दिएका थिए । त्यसपछिको प्रगति विवरणबारे सरकारले केही बोलेको छैन । बदलामा नेताहरु आफ्ना कार्यकर्ता र सानातिना कार्यक्रममा गएर चिच्याइरहेका छन् ।

नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले त यस्ता मन्त्रीहरुको चर्तिकला देखेर सामाजिक संजालमा आक्रोश नै पोखेकी थिइन् । परराष्ट्र मन्त्रालय र परराष्ट्र मन्त्री ज्ञवाली सबैभन्दा कमजोर पछिल्ला गतिविधिले परराष्ट्र मन्त्रालय कति कमजोर रहेछ भन्ने स्पष्ट पार्छ ।

मन्त्री प्रदीप ज्ञवालीसमेत निकै नै कमजोर सावित भइरहेका छन् । मन्त्रालयको भाषाले पनि नेपालको गरिमालाई बदनाम गरिरहेको छ । कहिले ‘कन्डोलेन्स’ (शोक) व्यक्त गर्दा ‘कङ्ग्रयाचुलेसन’ (बधाई) दिन्छ भने बधाई भन्नुपर्ने बेलामा शोक व्यक्त गरिरहेको हुन्छ ।

यो भन्दा नालायकी अरु के हुन सक्छ । सीमाका बारेमा जसले वार्ता गर्नु पर्ने हो ऊ चुप छ । सर्वदलीय सहमतिपछि अहिले कुन लेभलमा वार्ता भएको छ त ? प्रधानमन्त्री केपी शर्मा ओलीले सीमानाबाट भारतीय सेना हटाउने भन्छन् तर परराष्ट्र मन्त्री ज्ञवाली गुप्तवास जस्तै छन् ।

उनी आफ्नो गृह जिल्ला गुल्मी गएर बसेका छन् । यो भन्दा गलत राष्ट्रिय स्भाभिमानमा के हुन सक्छ ? प्रधानमन्त्रीले कुटनीतिक वार्ताका लागि कुन कुन निकाय परिचालन गरेका छन् त ? केही पनि खुलेको छैन । परराष्ट्रको काम गराई हेर्दा कतै मन्त्रालय कुनै दूतावासको परिवन्दमा फसेको छ कि भन्ने आशंका हुन्छ । यसले कतै देशलाई दुर्घटनामा पुर्याउँछ कि भन्ने खतरा बढ्दै गएको छ ।

प्रदीप ज्ञवाली आफ्नो निर्वाचन क्षेत्रमा गएर बस्ने बेला होइन यो । त्यसो त उनका मतदातासमेत उनीप्रति सन्तुष्ट हुन सकेका छैनन् । उनले यो चुनाव जितेपछि कुनै पनि नयाँ योजना लिएर गएका छैनन् । उनले यसअघिका सांसद चन्द्र भण्डारीले गरेका कामभन्दा निकै थोरैमात्र पनि उपलब्धि हासिल गर्न सकेका छैनन् ।

उनले हालै तत्कालीन सांसद भण्डारीको पालामा बनाइएको स्वास्थ्य चौकीको उद्घाटन गरेका छन् । उनकै मतदाताले पनि ज्ञवालीले स्वास्थ्य चौकी उद्घाटन गर्ने बेला हो कि सीमाको रक्षा गर्ने बेला हो भनी प्रश्न गर्नुपर्ने भएको छ ।

.

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार