काठमाडौं, १५ मंसिर – भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद ढकालले ११ हजार २ सय १० मत पाएका छन् । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् । भडेल निर्वाचित भएकाे औपचारिक घाेषणा हुन भने बाँकी छ ।
अघिल्लो पटक यस क्षेत्रमा तत्कालिन एमालेबाट हरिश्चरण लामिछाने विजय भएका थिए । गत वर्ष हृदयघातबाट उनको निधन भएपछि भक्तपुर १ (क) खाली थियो । भक्तपुर १ (क) को प्रदेश सभाको उपनिर्वाचन सबैको चासाेको विषय बनेको थियाे ।
यस निर्वाचनलाई प्रमुख राजनीतिक दलहरुले आफनो प्रतिष्ठा बनाएका थिए । पूर्व उद्योग मन्त्री समेत रहेका भक्तपुर २ का सांसद महेश बस्नेत नेकपालाई जिताउन लागिपरेको देखिए पनि नागरिकस्तरमा उनको केहि जोर चलेन। पूर्व माओवादीबाट उमेदवारी पाएका ढकाल नजित्दा नेकपामा यसको दुरगामी असर पर्ने पूर्व माओवादीका एक स्थानीय नेताले बताए । भक्तपुर १ (क) राजधानी काठमाडौसँग जोडिएको क्षेत्र भएकोले पनि यस क्षेत्रलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका हुन् ।