सागमा नेपाललाई ३६ स्वर्ण, आज १९ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौं, २० मंसिर  – नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ३६ वटा स्वर्णपदक जितेको छ । नेपालले यो आँकडालाई अझै बढाउने निश्चित छ । जति स्वर्ण जित्यो यो आफैमा कीर्तिमान हो । अहिलेसम्म सागका कुनै पनि संस्करणमा नेपालले ३६ वटा स्वर्णपदक जितेको थिएन ।

आठौ सागमा नेपालले सबैभन्दा धेरै ३१ स्वर्ण जितेको थियो । यो अर्थमा १३ औं साग नेपालका लागि सफल साग बनेको छ । यही गतिमा अगाडि बढिरहँदा नेपाल दोस्रो स्थानमा रहेर साग सकाउने देखिएको छ ।  नेपालले २७ रजत र ३८ कास्यसहित १०१ पदक जितेको छ ।

भारत भने नेपालभन्दा निकै अगाडि लागेको छ । भारतले ६२ स्वर्ण, ४१ रजत र २१ कास्यपदक जितेको छ । तेस्रो स्थानको श्रीलंकाको १७ स्वर्णसहित १०७ पदक छ । पाकिस्तानको १५ स्वर्ण छ भने बंगलादेशको ४ स्वर्ण जितेकाे छ । माल्दिभ्सको १ स्वर्ण छ । भुटानको ६ कास्यपदक रहेकाे छ ।

सागको छैटौं दिन आज १९ खेलमा प्रतिस्पर्धा हुँदै

नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज ( शुक्रबार) १९ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौं र पोखरा गरी कुल १९ खेलमा प्रतिस्पर्धा हुनेभएको हो । आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ भने कुस्ती जनकपुरमा हुनेछ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पुरुष क्रिकेटका दुई खेल हुनेछन् । पहिलो खेलमा भुटानले टेष्ट राष्ट्र बंगलादेश यू २३ को सामना गर्ने छ भने दोस्रो खेल नेपाल र माल्दिभ्सबीच हुनेछ ।

उता, पोखरा क्रिकेट रंगशालामा हुने महिलातर्फ नेपालले टेष्ट राष्ट्र श्रीलंकासंग खेल्दै छ । फाइनल पुग्न नेपाललाई बलियो प्रतिद्वन्दी श्रीलंकामाथि जित निकाल्नै पर्ने दबाब छ ।

त्यस्तै, आजबाट बक्सिङ सुरु हुँदैछ । पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित कराते हलमा नेपालले ४ वटा इभेन्टमा प्रतिस्पर्धा गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार