स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई जनही नौलाख रुपैयाँ दिने सरकारकाे घोषणा

काठमाडौं, २५ मंसिर – सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका नेपाली खेलाडीलाई जनही नौलाख रुपैयाँ दिने भएको छ । एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिइनेछ । रजत जित्नेलाई छ लाख र कास्य जित्नेलाई तीनलाख रुपियाँ दिने घोषणा गरिएको छ ।

धानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई बुधबार बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालका अनुसार स्वर्ण विजेता खेलाडीले ९ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिइने प्रधानमन्त्रीले बताए । टिम इभेन्टतर्फ नेपालले पुरुष फुटबल, तेक्वान्दोको पुम्से र कराँतेको काता र गल्फ टिममा नेपालले स्पर्ण पदक जितेको छ । स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकहरुले पनि जनही ५ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै सागमा रजत जित्नेले ६ लाख र कांस्य जित्नेलाई ३ लाख पाउने भएका छन् । तर टिम इभेन्टमा रजत र कांस्य जित्ने खेलाडीहरुले कति पाउँछन् भन्ने खुलाइएको छैन । नेपालले महिला भलिबल, कबड्डीलगायतका टिम इभेन्टमा रजत र कांस्य जितेको छ ।

साथै पदक जित्ने टिमका म्यानेजर र अन्य सहयोगीले पाउने रकम पनि खुलाइएको छैन । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवालले पुरस्कारसम्बन्धी कार्यविधि मन्त्रिपरिषदले पारित गरेपछि यसबारे प्रष्ट हुने जानकारी दिए ।

काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो । यसअघि सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार