धनुषा जिल्ला भरिका सम्पूर्ण संस्थागत विद्यालय तथा क्याम्पस बन्द

धनुषा, २९ मंसिर – आइतबार धनुषा जिल्ला भरिका सम्पूर्ण संस्थागत विद्यालय तथा क्याम्पस बन्द हुने भएका छन् । बम बिस्फोटमा परी तीन जनाको मृत्यु भएको शोकमा संस्थागत विद्यालय संरक्षण समितिले एक विज्ञप्ती जारी गर्दै धनुषा जिल्ला भरिका सम्पूर्ण संस्थागत शैक्षिक संस्था बन्दका घोषणा गरेका हुन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा शुक्रबार राति राजेश्वर साहको घरमा अज्ञात व्यक्तिले छाडेको बम बिस्फोट हुँदा साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो । छोरा आनन्द जनकपुरस्थित सिद्धार्थ शिशु सदन स्कूलमा कक्षा १० मा अध्ययनरत थिए ।

यस्तै घटनामा गम्भीर घाइते भएका धनुषाका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर अमिर दहालको समेत उपचारको क्रममा मृत्यु भएको थियो । राजेश्वर साहका बुबा भिखारी साह, अर्का छोरा प्रकाश, छोरी अञ्जली र प्रहरी जवान रिजन महतो गम्भीर घाइते भएका छन् । त्यस्तै छोरी निक्कीसमेत घाइते भएकी छन् ।

घटना पश्चात् संस्थागत विद्यालय संरक्षण समितिका अध्यक्ष चन्द्रनारायण मण्डलले एक विज्ञप्ति जारी गरी यस घटनाले स्तब्ध बनाएको भन्दै निजी शैक्षिक संस्था बन्द रहने जनाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार