संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु

काठमाडौं, ४ पुस – विधेयक अधिवेशनका रुपमा लिइने संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि सुरू भएको छ । अधिवेशन सभामुखको रिक्तताका कारण उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को पाँचौ अधिवेशन यही पुस ४ गते शुक्रबार अपरान्ह ४ बजे प्रारम्भ हुनेगरी गत मंसिर २५ गते आह्वान गरेका थिए ।

पहिलो बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र सभाध्यक्षले पढेर सुनाइनेछ । यसबीचमा गरिएका मन्त्रिपरिषद् पुनःगठनलगायत सरकारका महत्वपूर्ण कामबारेमा संसद्लाई जानकारी दिइनेछ भने सत्ता र प्रतिपक्षी दलका सांसद्ले सार्वजनिक महत्व र जनजीवनका सवालमा ध्यानाकर्षण गराउनेछन् ।

संसदीय प्रणालीमा जनताको आवाज सशक्तरुपमा राख्ने सार्वभौम थलोका रुपमा संसद्लाई लिइन्छ । संसद् (व्यवस्थापिका)को निर्देशन मान्नु कार्यपालिका (सरकार)को दायित्व हुनेछ ।

संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार अधिवेशन सञ्चालनका लागि बैठकको हलमा भौतिक मर्मत, सरसफाइ र व्यवस्थापनका काम पूरा भएको छ । सचिवालयका शाखा र कर्मचारीहरु जुनसुकै बेला मूल बैठक र समितिका बैठक सञ्चालनका लागि तम्तयारी आवस्थामा छन् ।

डा पाण्डेले पहिलो दिनको कार्यसूचीलगायतका विषयमा छलफल गर्न अधिवेशन शुरु हुनुअघि शुक्रबार उपसभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक डोकेका र सभामुखको निर्वाचनका विषयमा पनि सोही बैठकले कार्यतालिका तय गर्न सक्ने बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार