काठमाडौँ, ७ पुस – चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ । सुकेधारा चोक नजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५९२० नम्बरको बसले बिहान करिब ५ः३० बजे ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको ठक्करबाट सहपाठीको मृत्यु भएपछि आक्रोशित बनेका पशुपति बहुमुखी क्याम्पसका विद्यार्थीले बा४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् ।
आगजनीबाट बसमा आंशिक क्षति पुगेको छ । उक्त घटनापछि चाबहिल, सुकेधारा र मित्रपार्क क्षेत्रमा सुचारु ढङ्गबाट यातायात सञ्चालनमा केही समय अवरोध भएको थियो ।
राजनीतिक तरंग पनि यो क्याम्पसमा पहिले आउँछ भने सामाजिक रुपमा पनि यो क्याम्पस सक्रिय छ । अन्य मानिसमा परेको पीडालाई आफ्नै ठानेर सडकमा आउने क्याम्पसका विद्यार्थीहरु साथी नै पीडित बनेपछि झनै आक्रामक भएका हुन् ।
सुरक्षाकर्मीलाई समेत स्थिति नियन्त्रणमा लिन समस्या भएको छ । विद्यालय समय र कार्यालय समयमा भएको उक्त अवरोधले गर्दा कयौं यात्रु रिङरोडमै अलपत्र परेका थिए ।