दुई साताभित्र नेकपाले एकताको बाँकी टुङ्गो लगाउने

काठमाडौं, ११ पुस – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबको दुई साताभित्र एकताको बाँकी टुङ्गो लगाउने तयारीमा लागेको छ । नेकपाको पुस ६ गते सम्पन्न स्थायी कमिटीको बैठकले पुस २३ गतेका लागि केन्द्रीय कमिटी बैठकको मिति तय गरेको छ ।

त्यसअघि एकताका बाँकी काम टुङ्गो लगाउने निर्णय स्थायी कमिटीको बैठकले गरेको थियो । सोही निर्णयानुसार कामहरू अगाडि बढिरहेको पार्टी सङ्गठन विभागका सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।

नेकपामा बाँकी रहेका एकताका कामको प्रतिवेदन तयार गरी सचिवालयमा बुझाइसकेको बताउँदै उनले त्यसलाई सचिवालयले टुङ्ग्याउन बाँकी रहेको बताइन्। सङ्गठन विभागका बैठक बसेर बाँकी रहेका एकताका कामहरू कसरी चाँडो टुङ्ग्याउन सकिन्छ, त्यसको बारेमा छलफल गरी सचिवालयलाई सुझाव दिने उनले बताइन्।

सचिवालय सदस्य झलनाथ खनालले पुस २३ गतेअघि एकताका बाँकी सबै काम टुङ्गो लगाउने निर्णय भएको छ, त्योअनुसार तयारी भइरहेको बताउँदै सचिवालयको बैठकले सबै टुङ्गो लगाउने स्पष्ट पारिन्।

“एकता तथा समायोजन टुङ्गो लगाउन बाँकी रहेका सङ्गठनहरूको प्रतिवेदन सचिवालयमा आइसकेको छ, त्यसमा छलफल गरी टुङ्गो लगाउने काम हुन्छ”, उनले थपिन्, सचिवालको बैठक चाँडै बस्दै छ, ती बैठकले एकताको बाँकी काम टुङ्गो लगाउनैपर्छ । ढिलो भइरहेको छ, अब टुङ्गो लगाउनुको विकल्प छैन । ”

नेकपामा सल्लाहकार कमिटी, प्रवास कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्च, लेखा आयोग, कानुन आयोग, अनुशासन आयोग, केन्द्रीय सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटीलगायतको कार्यविभाजन गर्न बाँकी छ । – गाेरखापत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार