कास्की, १३ पुस – पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो । यो सँगै च्याम्पियन चितवनले २७ लाख र उप विजेता विराटनगरले १० लाख प्राप्त गरेका छन् ।
जितको लागि २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७० रन बनाएका थिए ।विराटनगरका लागि पाकिस्तानका मोहम्मद जैद आलमले सर्वाधिक ५७ रनको योगदान दिए ।
त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो। चितवनका अनिल कुमार शाहले ३४ बलमा ३ चौका र ३ छक्का सहित ५० रनमा क्याच आउट भए । अनिललाई १६ औं ओभरको पहिलो बलमा पुनित मेहराले मोहम्मद जैदबाट क्याच गराए ।
ओपनर पारस खड्का र रोहन मुस्तफाले पहिलो विकेटका लागि ३।२ ओभरमा ३६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । पारस खड्कालाई किशोर महतोले डीप स्क्वायर लेगमा पाकिस्तानका अलराउन्डर नोमन खानबाट २५ रनमा क्याच गराए । पारसले ११ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
विराटनगरका पुनित मेहराले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । मोहम्मद जैद आलमले ४ ओभरमा ३६ रन खर्चेर २ र किशोर महतोले १ विकेट लिएका थिए ।