https://www.saurabhgroup.com/

नेपाल भ्रमण वर्षको शुभारम्भ दशरथ रंगशालाबाट

काठमाडौं, १६ पुस – नेपाल भ्रमण वर्ष २०२० बुधबारबाट औपचारिक रुपमा सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको दशरथ रंगशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई विशेष सम्बोधन गर्नेछन् ।

अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक समारोह पाँच घण्टासम्म चल्ने भ्रमण वर्ष सचिवालयले जनाएको छ । नेपालका मौलिक संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।

राष्ट्रगान सकिएलगत्तै बाजागाजासहित रंगशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुतिमा विभिन्न संघसंस्थाले परेड खेल्नेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । सोही समारोहमा भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । उदघाटन समारोहको रिहर्सल मंगलबार नै गरिएको थियो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार