सभामुखको टुंगो लाग्न नसक्दा बन्धक बन्दै संसद्

काठमाडौं- संघीय संसद्को पाँचौं अधिवेशन सुरु भएको १५ दिन बित्दा पनि प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेको छैन । दुईपटक सूचना टाँस गरी संसद् बैठक सारिएको छ । विभिन्न विधेयकहरु विचाराधीन भएको प्रतिनिधिसभा यसरी सुचारु नहुनको मुख्य कारण नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्नुलाई लिइएको छ ।

सत्तारुढ नेकपामा सभामुखमा कसलाई लैजाने भन्नेमा सहमति कायम हुन नसक्दा समस्या बल्झिदै जान थालेको हो । सुरुमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुबै जना सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउने विषयमा सहमतिनजिक पुगेका थिए । सुरुमा नेम्वाङप्रति केही लचक देखिएका अध्यक्ष दाहाल पूर्वमाओवादी समूहको दबाबका कारण पछि हट्न बाध्य भएका थिए ।

जसका कारण सभामुख बनाउने नेकपाको प्रयास १५ दिनदेखि अनिर्णित हुँदै आएको छ । नेकपाले सभामुख आफूले नगुमाउनका लागि उपसभामुखको राजीनामा गराउने तयारी गरेको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पनि पार्टीले निर्णय गरे आफूले राजीनामा दिन तयार रहेको बताउँदै आएकी छन् ।

पछिल्लो समय पटकपटक भएका भेटघाट र छलफलमा सहमतिको प्रयास भए पनि दुबै अध्यक्षले आआफ्नो अडान कायम राख्दा प्रतिनिधिसभा बैठक अनिश्चितजस्तो भएको छ । गत ४ पुसमा औपचारिकताका लागि प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो । त्यसपछि ११ पुसका लागि बोलाइएको बैठक सूचना टाँसेर १६ पुसमा बस्नेगरी स्थगित भएको थियो ।

निर्धारित कार्यसूचीअनुसार बस्ने प्रतिनिधिसभाको बैठकले पहिलो कार्यसूचीमा सभामुख चयनको प्रक्रिया राखेको थियो । तर, बैठक बोलाइएको अघिल्लो दिन अर्थात् १५ पुसमा नै ११ दिन थप गरी २७ पुसको लागि बैठक बोलाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार