धनुषा, २५ पुस — अवैध गिट्टी–बालुवा उत्खनन्को विरोध गर्ने क्रममा शुक्रबार टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला नगरपालिका ५ का २४ वर्षीय दिलीपकुमार महतो रहेका छन् । उनको मटनास्थलमै मृत्यु भएको हो ।
मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको औरही खोलाको बगरमा भइरहेको अवैध उत्खनन्को विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको स्थानीयले बताएका छन् । स्थानीयबासीका अनुसार बिहान ४ बजे नदीजन्य पदार्थ लिन गएको ना ७ ख ६४१३ नम्बरको टिपरलाई उनले बाटोमै रोकेका थिए । चालकसँग भनाभन भएपछि टिपरले किचेरै उनको हत्या गरिएको हो ।
टिपर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । महतोको शव पोस्टमार्टम का लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
युवको हत्या विरोधमा स्थानीय आन्दोलित भएका छन् । उनीहरूले टायर बालेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । दोषीलाइ कारबाहीको माग गर्दै स्थानीयले चर्को प्रदर्शन गरिरहेका छन् ।