सभामुख चयन अन्योलमै- उपसभामुखलाई राजीनामा गर्न नेकपा सचिवालयको निर्देशन

काठमाडौं – सत्तारूढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि सभामुख चयन प्रक्रिया अन्योलमा परेको छ । कार्यतालिकाअनुसार सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्न प्रतिनिधिसभाको बैठक आइतबार बस्नुपर्ने हो । तर नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेकाले बैठक बोलाउने/नबोलाउने अन्योल बढेको संसद् सचिवालय स्रोतले जनाएको छ ।

‘नेकपाका तर्फबाट अहिलेसम्म खबर आएको छैन, सम्भवतः आइतबार पनि सभामुखको चुनावी प्रक्रियामा जान सकिँदैन होला,’ संसद् सचिवालय स्रोतले भन्यो, ‘बैठक बोलाएर सभामुखको चुनावी प्रक्रिया अलि ढिलो सुरु गर्न पनि सकिन्छ ।’

यसअघि दुईपटकसम्म दुई दिनभित्रै सभामुख चयन गर्ने गरी कार्यतालिका तय गरिएको थियो । तर नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि पुस ११ र १६ मा बोलाइएको संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

आइतबारको बैठक सकेसम्म सूचना टाँसेर स्थगित गर्नु नपरोस् भन्ने सोचिएको नेकपा महासचिव विष्णु पौडेलले बताए । ‘ठ्याक्कै भन्न सकिने अवस्था छैन तर अहिलेसम्मको प्रगति हेर्दा आइतबार सभामुख निर्वाचन प्रक्रिया अघि बढ्ला,’ उनले भने ।

यसका लागि आइतबार ज्येष्ठ सदस्यले बैठक चलाउने र उम्मेदवार मनोनयनका लागि साता दिनजति समय दिने गरी प्रक्रिया अघि बढाउने विकल्पबारे सोचिएको संसद् सचिवालय स्रोतको भनाइ छ । – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार