दुई आयोगमा पदाधिकारी सिफारिस

काठमाडौँ, ५ माघ – बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले शनिबार सिफारिस गरेको छ ।

समितिले सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेशदत्त भट्टलाई सिफारिस गरेको हो । उहाँ नेपाल ल क्याम्पसमा अध्यापन गर्नुहुन्छ । सदस्यमा भने प्रचण्डराज प्रधान, गोबिन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस भएको छ ।

त्यस्तै वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम समितिले सिफारिस गरेको छ । सदस्यमा बिश्र्वप्रकाश भण्डारी, सुनिलरञ्जन सिंह, गंगाधर अधिकारी र सरिता थापामगर रहेका छन् ।

समितिका संयोजक पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सदस्यहरु शर्मिला कार्की, प्रकाश वस्ती, रामनाथ मैनाली र प्रेमबहादुर खड्काले शनिबार नै सिफारिस गरिएका नाम सहितको लिष्ट कानून मन्त्रालयलाई बुझाएको छ । “कानूनमन्त्री भानुभक्त ढकाललाई नाम बुझाएका छौँ,” सदस्य शर्मिला कार्कीले भन्नुभयो, “हाम्रो काम सिफारिस मात्र गर्ने हो , पूर्ण नाम सार्वजनिक भने सरकारले गर्नेछ ।” आउँदो माघ २५ गते सिफारिसको अन्तिम मिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार