अख्तियारद्वारा बालुवाटार जग्गा छानबिन प्रक्रिया पूरा, मुद्दा चलाउन अलमल

काठमाडौं, ८ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास बालुवाटार जग्गा प्रकरणको विषयमा छानबिन प्रक्रिया पूरा गरे पनि अनुसन्धान अधिकृतले मुद्दा कसलाई चलाउने भन्ने विषय निर्क्यौल गर्न नसक्दा मुद्दा दायरको समय लम्बिने देखिएको छ ।

अनुसन्धान अधिकृतले आयोगमा यो एजेन्डालाई प्रवेश गराउन सकेका छैनन् । अनुसन्धान सकिए पनि आयोगले बैठक राखेर यस विषयमा छलफल गराउन नसक्दा प्रक्रिया लम्बिने अवस्था आएको हो ।

आयोग उच्च स्रोतका अनुसार आयोगका अनुसन्धान अधिकारीले सो फाइललाई अहिले थाती राखेका छन् । मुद्दाको अनुसन्धान पूरा भएपछि आधार र कारणसहित व्यक्तिको किटान गरी मुद्दा दर्ता गर्न आवश्यक देखियो भनी मिसिल बुझाउनुपर्ने हुन्छ । तर, अनुसन्धान पूरा गरेको तीन साता बित्दा पनि मिसिल तयार नभएकाले मुद्दा प्रक्रिया अझै अन्योलमा छ ।

अनुसन्धान अधिकारीले आयोगका आयुक्तसमक्ष मिसिल पेस गरेपछि सो विषयमा छलफल गरेर मात्रै मुद्दा दर्ता गर्ने या पुनः अनुसन्धान गर्नुपर्ने हो भन्ने विषयमा निर्णय हुन सक्छ । तर, अनुसन्धान अधिकारीले मिसिल नबुझाएकाले मुद्दा दर्ता प्रक्रिया जटिल बनेको छ ।

अख्तियार स्रोतका अनुसार मुख्य दोषी कसलाई किटान गर्ने भन्ने विषय टुंगो लगाउन नसक्दा ढिलाइ भएको हो । अझै केही समय छानबिन भइरहेकाले फाइल अध्ययन गरेर मुद्दाको प्रक्रिया अगाडि बढाउने तयारी गरेको ती अधिकारीले बताए । तर, क–कसलाई मुद्दा चलाउने भन्ने विषयमा आयोग अझै अलमलमा छ ।

ललिता निवास जग्गा प्रकरणको दोषीलाई मुद्दा चलाउने निर्णयसहित सीआईबीले पनि गत साता मात्रै आफ्नो अनुसन्धान प्रक्रिया पूरा गरेको छ । तर, क–कसलाई मुद्दा दर्ता गर्ने भन्ने विषयमा पनि सिआईबीले टुंगो लगाउन सकेको छैन । सीआईबीले अनुसन्धान प्रक्रियामा बालुवाटार जग्गा हिनामिना प्रकरणमा जोडिएका झन्डै ६० जनासँग बयान लिएको थियो ।- राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार