गोष्ठीमा भाग लिन अमेरिका गएकी उपप्रमुख नफर्केपछि

काठमाडौं — अमेरिकामा आयोजित गोष्ठीमा भाग लिन कात्तिक पहिलो साता गएकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली फर्किएकी छैनन् । तत्कालीन माओवादी केन्द्रबाट चुनाव जितेकी उनले अमेरिका पुगेपछि पार्टीसँग पनि सम्पर्क नगरेको नेकपाले जनाएको छ ।

इन्टरनेसनल सिटी म्यानेजर एसोसिएसन (आईसीएमए) को निमन्त्रणामा नगरपालिका संघकी सदस्य नेपालीसहित तीन जना अमेरिका गएका थिए । एउटै कार्यक्रममा निमन्त्रणा पाएका नेपाली, धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना र नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा छुट्टाछुट्टै विमानमा अमेरिका पुगेका थिए । ‘अमेरिकाको होटेलमा पुगेपछि मात्रै उहाँ (नेपाली) सँग भेट भयो,’ नीलकण्ठका प्रमुख ढुंगानाले भने, ‘हामी दुई जना मल्टिपल भिजाबाट गएका हौँ ।

उहाँ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्वीकृतिबाट जानुभएको थियो ।’ कार्यक्रम सकिएपछि छुट्टिएको र आफू २४ दिनपछि फर्किएको उनले बताए । ‘म्यासेन्जरमा कुरा हुँदा उहाँ भिजाको म्याद थपेर बसेको सुनाउनुहुन्थ्यो,’ ढुंगानाले भने, ‘आफ्नो नसामा समस्या देखिएको भन्दै रुनुहुन्थ्यो । दूतावासमा कुराकानी गरेर फर्किने व्यवस्था मिलाउँछु भन्दा मान्नुभएन ।’ ढुंगानाले नेपालीसँग पछिल्लो समय कुराकानी नभएको बताए ।

तिलागुफाका प्रमुख रतनबहादुर शाहीले कहिले फर्किने भनेर सोध्दा बिरामी रहेको जवाफ आएको बताए । ‘केही दिन आराम गरेर आउने भन्नुभएको थियो तर तीन महिना बितिसक्दा पनि आउनुभएन ।’ आफ्नाबारे समाचार आउन थालेपछि नेपालीले आफ्नो फेसबुक एकाउन्ट निष्क्रिय पारेकी छन् ।

बिहीबार राष्ट्रिय सभाको निर्वाचनमा नदेखिएपछि नेपाली सम्पर्कविहीन भएको खबर फैलिएको हो । विद्यार्थी राजनीतिमा सक्रिय उनलाई तत्कालीन माओवादीले २०७४ को स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा उठाएको थियो । नेकपा कालीकोटका सचिव नगेन्द्र शाहले उपप्रमुख नेपाली अमेरिका पुगेर सम्पर्कविहीन भएर पार्टीले गरेको सम्मानमा ठेस पुर्‍याएको बताए ।

‘अमेरिका समस्या भएरै बस्नुभएको हो वा होइन भन्नेबारे केही दिनमा हामी पत्ता लगाउँछौँ,’ उनले भने, ‘समस्या परेको भए घर फर्काउन पहल गर्छौं । पद नै त्यागेर अमेरिका बस्न चाहेको भए निर्वाचन आयोग र पार्टीसँग छलफल गरी थप प्रक्रिया अगाडि बढाउँछौं ।’

उपप्रमुखले न्यायिक समिति, योजना तथा अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिलगायत १३ वटा समितिको नेतृत्व गर्नुपर्छ । उपप्रमुख नभएका कारण नगरपालिकामा सम्पन्न भएका योजनाको भुक्तानी पनि दिन नसकिएको नगरप्रमुख शाहीले बताए । स्थानीय रेवती शाहीले तीन महिनादेखि उपप्रमुख नहुँदा आफ्नो जग्गाको विवाद नमिलेको बताइन् । – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार