एमसीसीको टुङ्गो नेपाल कम्युनिस्ट पार्टीको अर्को बैठकबाट

काठमाडौँ, ११ फागुन – एमसीसीको विषयमा छलफल गर्न बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले कुनै निर्णय गर्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकमा एमसीसीबारे अध्ययन गर्न गठन भएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको प्रतिवेदनबारे छलफल भएको थियो ।

माघ १५ देखि १९ गतेसम्म चलेको नेकपा केन्द्रीय कमिटीको बैठकले पार्टीका वरिष्ठ नेता एवं सचिवालय सदस्य झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको थियो । सो कार्यदलले प्रतिवेदन तयार गरी पार्टीलाई बुझाएको हो । सोही प्रतिवेदनमाथि छलफल गर्न सचिवालयको बैठक बसेको थियो ।

बैठकमा कार्यदलका संयोजक खनालले एमसीसीको विषयमा अध्ययन गरेको प्रतिवेदनबारे ‘ब्रिफिङ’ गर्नुभएको थियो । बैठकमा एमसीसीबारे गम्भीर छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको सचिवालय सदस्य वामदेव गौतमले बताउनुभयो । कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख विषयवस्तुमाथि हरेक कोणबाट छलफल भयो तर कुनै निष्कर्ष निस्केको छैन, अर्को बैठकबाट यसबारे ठोस निष्कर्ष निकालिने बताउनुभयो ।

नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले सचिवालय सदस्य खनाल नेतृत्वको कार्यदलले पेस गरेको प्रतिवेदनमाथि हरेक कोणबाट छलफल भयो, आगामी बैठकबाट त्यसको टुङ्गो लगाउने सहमति भएको बताउनुभयो । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि लागेको आरोप विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत अन्य निकायले अध्ययन गरिरहेको हुनाले यसबारे पार्टीले बोल्नुनपर्ने पनि सहमति भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार