कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव, नेपालको नक्सा काटेर खाए ओलीले !

काठमाडौं, १२ फाल्गुन- सत्तारुढ नेकपाले संविधान संसोधनका लागि कार्यदल बनाएको देखि प्रधानमन्त्री केपीशर्मा ओलीले राजा महाराजाले जसरी जन्मदिन मनाएको विषयलाई आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।

आजको नयाँ पत्रिका दैनिकले कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव, प्रधानमन्त्रीलाई भेट्न विद्यार्थीहरू घन्टौँ हिँडेर आए शीर्षकमा मुख्य समाचार छापेको छ । समाचारमा लेखिएको छ– कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएका छन् ।

सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए । सत्तारुढ नेकपाकै नेतृत्वमा रहेको आठराई गाउँपालिकाले त ओलीको जन्मोत्सव मनाउन सार्वजनिक बिदा नै दियो ।

प्रधानमन्त्री ओली जन्मदिन मनाउन परिवारका सदस्य, संघीय सरकारका तीन मन्त्री, दुईजना प्रदेश प्रमुख, प्रदेश १ का मुख्यमन्त्री र मन्त्री तथा केही नेतालाई लिएर हेलिकोप्टरबाट आठराई पुगे । तेह्रथुमवरिपरिका मात्रै होइन, झापा र मोरङसम्मका केही सरकारी अधिकारी र नेता–कार्यकर्ता सरकारी गाडी चढेर आठराई ओइरिए ।

गाउँपालिकाले सार्वजनिक बिदा दिँदै कर्मचारी, शिक्षक र विद्यार्थीलाई जन्मोत्सव कार्यक्रममा उपस्थित हुन उर्दी गरेको थियो । झापाबाट क्याटरिङ झिकाएर करिब ६ हजारलाई भोज खुवाइएको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्रीलाई बधाई दिन यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा छुट्टै हेलिकोप्टरमा १५ किलोको केक लिएर आठराई पुगेका थिए । नेपालको नक्सा आकारको केक प्रधानमनन्त्री ओलीले काटेर आफूले पनि खाए भने अरुलाई पनि खुवाए । देशको नक्सा काटेर खाएको भन्दै उनको सर्वत्र आलोचना भएको छ ।

आजको नागरिक दैनिकले जन्मोत्सवमा ओली महोत्सवमा दाहाल शीर्षकमा मुख्य समाचार छापेको छ । ओली आफ्नो जन्मदिन मनाउन व्यस्त हुँदा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनुषामा मिथिला माध्यमिकी परिक्रमा नामक धार्मिक कार्यक्रममा व्यस्त बनेका थिए ।

यस्तै जिटुजी र नीतिगत निर्णयका आधारमा वर्तमान सरकारका मन्त्रीहरुले भ्रष्टाचार गर्ने गरेको विषयलाई पनि नागरिक दैनिकले प्राथमिकताका साथ छापेको छ । उसले लेखेको छ– सरकारको बागडोर समालेका मन्त्री र कर्मचारीको मिलेमतोमा पछिल्लो समय भ्रष्टाचार गर्न दुईवटा सजिलो माध्यम बनाइएको छ– जिटुजी र मन्त्रिपरिषद्को नीतिगत निर्णय।

वर्तमान सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीले आर्थिक अनियमितता गर्न जिटुजी र नीतिगत निर्णयलाई माध्यम बनाएको देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले गरेका पछिल्ला नीतिगत निर्णय र विभिन्न मन्त्रालयले जिटुजीमार्फत खरिद गर्न खोजेका वस्तु तथा सेवामा भ्रष्टाचार गरेको आरोप लागेको छ।

आजको कान्तिपुर दैनिकले नेकपा नेता वामदेव गौतमका लागि संविधान संसोधनको तयारी गरिएको विषयलाई मुख्य समाचार बनाएको छ । राष्ट्रिय सभा सदस्य बनाउन लागिएका गौतमका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरि संविधान संसोधनको तयारी गरिएको समाचारमा उल्लेख छ ।

यस्तै कान्तिपुरले जो बाँस्कोटाका योजनाकार थिए शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले सेक्युरिटी प्रेस स्थापनाका लागि शंकास्पद भूमिका  खेलेका थिए ।

सेक्युरिटी प्रेसमा उनको भूमिकाका विषयमा संसद्को लेखा समिति बैठकमा बिहीबार सांसदहरूले प्रश्न गर्दा पौडेल नाजवाफ भएका थिए । त्यसको केही समयमै सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिए ।

थप यस्तै प्रश्नको सामना गर्नुपर्ला भनेर हुन सक्छ, त्यही राति पौडेल अमेरिका उडे । चिकित्सक पत्नीको अमेरिकी ग्रिनकार्ड रहेकाले उनी उतै बस्ने अनुमान गरिएको समाचारमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार