बैंक तथा व्यवसायीहरूको चर्को विरोधका कारण व्यक्तिगत कर्जामा लचकता

काठमाडौं,  २१ फाल्गुण — नेपाल राष्ट्र बैंकले घर कर्जाका लागि खुकुलो नीति लिएको छ । केन्द्रीय बैंकले सोमबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै स्वप्रयोजनको घर निर्माण दिइने कर्जामा केही खुकुलो नीति अवलम्बन गरेको हो ।


केन्द्रीय बैंकले अर्धवार्षिक समीक्षामार्फत स्वप्रयोजनका लागि निर्माण-खरिद गरिने पहिलो घरको लागि प्रदान गरिने कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम ६० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिन लागेको हो । यस अघि कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको थियो ।

बैंक तथा व्यवसायीहरूको चर्को विरोधका कारण केन्द्रीय बैंकले कर्जामा ऋण भुक्तानी आम्दानी अनुपातमा केही खुकुलो नीति लिएको हो । स्वप्रयोजनका लागि निर्माण-खरिद गरिने पहिलो घर तथा ५० लाखदेखि २ करोड रुपैयाँ, कृषि, पर्यटन, साना तथा मझौला पेशा-व्यवसायका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान-नवीकरण गर्नसक्ने व्यवस्था गरेको हो । कर्जाका लागि कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरेको केन्द्रीय बैंकले बैंकहरूले कर्जा प्रवाह गर्न नसकेपछि करचुक्ताको सट्टामा दाखील कागजका आधारमा नै ऋण दिने व्यवस्था गरेको हो ।

मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षाअनुसार नियमानुसार दर्ता भएका घर जग्गा व्यवसाय कम्पनीहरूले सञ्चालन गर्ने नेपाल सरकारको सम्बन्धित निकायबाट अनुमतिप्राप्त आयोजनाका लागि प्रदान गरिने कर्जाको ऋण मूल्य अनुपात महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं महानगरपालिकासँग जोडिएका नगरपालिका क्षेत्रमा अधिकतम ५० प्रतिशत र सो बाहेकका क्षेत्रमा ६० प्रतिशत कायम गरिने व्यवस्था गरेको छ ।

साथै प्राथमिकताप्राप्त क्षेत्रमा प्रवाह हुने कर्जालाई थप प्रोत्साहित गर्न सूक्ष्म निगरानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने समेत समीक्षामा उल्लेख छ । कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरू पहिचान गरी त्यस्ता क्षेत्रहरूमा प्रवाह भएको कर्जामा पुनर्कर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरूमा आवश्यकता अनुसार पुनरावलोकन गरिनेछ । – कारोबार दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार