आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

आज ८ मार्च ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । यो दिवसलाई मूर्त बनाउन क्लारा जेटकिनदेखि आजसम्म असंख्य व्यक्तिहरूको योगदान छ विशेषगरी महिलाहरूको । सन् १९७५ मा संयुक्त राष्ट्रसंघले अपनत्व लिए पछि यो दिवस संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले मनाउन थाले ।

नेपालमा पनि यो दिवस सन १९७५ देखि सरकारी र जनस्तरबाट मनाउन थालिएको हो । सरकारले यसलाई अन्तर्राष्ट्रिय नारी दिवस नाम दिएको थियो भने जनस्तरबाट अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भनिएको थियो ।

सन १९०९, १९१० र १९११ महिला आन्दोलनका उत्कर्ष वर्षहरू रहे । सन १९०९ मा अमेरिकाको न्युयोर्कमा १५,००० श्रमिक महिलाहरूको प्रदर्शन भएको थियो जसले ज्याला, श्रम र मताधिकारको समान हकको माग राखेको थियो । सन १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा १७ देशका १०० भन्दा बढी प्रतिनिधिले श्रमिक महिला दिवसको गरिमा बढाउन सहभागिता जनाएका थिए ।

सन १९११ मा अमेरिका, अष्ट्रिया, डेनमार्क, जर्मनी, स्वीट्जरल्यान्ड आदि देशहरूमा श्रमिक महिला दिवस मनाइयो र यही वर्षलाई अन्तर्राष्ट्रि श्रमिक दिवसको आधार वर्ष मानियो । श्रमिक महिला आन्दोलनको प्रमुख नेतृत्व क्लारा जेटकिनको थियो ।

विश्वमा अझै पनि महिलाहरूको शिक्षा, स्वास्थ्य, ज्याला र अवसरमा असमानता रहेको छ । त्यसैकारण यसपाला अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा पुस्ता समानता (जेनरेसन इक्वालिटी) राखिएको छ ।

सन १९९५ मा संयुक्त राष्ट्रसंघको आयोजनामा राष्ट्रसंघ सबै सदस्य राष्ट्रहरूका प्रतिनिधिको सम्मेलन चीनको राजधानी बेजिङमा सेप्टेम्बर ४–१५ सम्म भएको थियो । बेजिङ घोषणाको २५ वर्ष पुगेकाले यो वर्ष संयुक्त राष्ट्रसंघले १९३ सदस्य राष्ट्रहरूबाट १२,००० प्रतिनिधिहरू बोलाएर न्युयोर्कमा कार्यक्रम गर्ने तयारी गरेको थियो तर कोरोना भाइरस कोभिड–१९ का कारण कार्यक्रम स्थगित भएको छ । महिला अधिकार, मानव अधिकार भन्दै विश्वले आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार