कांग्रेस १४ औं महाधिवेशनः दबाबमा देउवा, तनावमा पौडेल, द्विविधामा सिटौला

काठमाडौं, २ चैत  – नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका तीनैजना १४ औं महाधिवेशनको तयारीमा आइपुग्दा निकटबाटै अप्ठेरोमा परेका छन् ।

शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पुनः सभापतिको प्रत्यासी बन्ने रणनीतिका साथ अघि बढिरहेका बेला उनीहरुमाथि निकटबाटै पार्टी नेतृत्व अरुलाई हस्तान्तरण गर्न दबाब बढ्न थालेको हो ।

चार वर्षअघि भएको १३ औं महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेका देउवाले पूर्वप्रतिबद्धता अनुसार संगठन सञ्चालन गर्न नसकेको भन्दै निकटहरु नै असन्तुष्ट छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजयपछिका दिनमा देउवाको छविलाई लिएर पार्टीभित्र र बाहिर प्रश्न उठिरहेको छ ।

१३ औं महाधिवेशनअघि जस्तो पार्टीभित्र र बाहिरको वातावरण देउवा अनुकूल नरहेको भन्दै उनलाई आफ्नै निकटले पुनः सभापतिको प्रत्यासी नबन्न सुझाउन थालेका छन् ।

केन्द्रीय सदस्य रमेश रिजालले देउवालाई भेटेर परिस्थिति अनुकूल नभएको बताएको स्रोतको दाबी छ । रिजाल देउवा निकट मानिन्छन् । गत माघ ९ मा भएको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्न प्रदेश नम्बर २ का केन्द्रीय सदस्यहरुको छलफलका क्रममा रिजालले १३ औं महाधिवेशनमा जस्तो अनुकूल अवस्था नभएको भन्दै देउवालाई पुनः उम्मेदवार नबन्न सुझाएको स्रोतको दाबी छ । रिजालले मात्र नभएर निकट अन्य नेताले पनि देउवालाई पुनः प्रत्यासी बन्ने निर्णयमा पुगिनहाल्न सुझाएको स्रोत बताउँछ । – नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार