इलाम – परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको छ। सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलवार बलात्कारपछि हत्या भएको हो। स्थानीय ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को परीक्षा दिन घरबाट हिँडेकी राईको शव बुधवार फेला परेको प्रहरीले जनाएको छ ।
विद्यालय पुग्नुभन्दा करिब १५ मिनेटको बाटोमा उनको शव भेटिएको हो । बलात्कार गरी खाडलमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेले बताए। ‘बिहान साढे ९ बजेतिर घरबाट स्कुल हिँडेकी उनलाई स्कुल पुग्नुअघि नै बलात्कार गरी मारेर खाडलमा पुरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
सदरमुकाममा बिहीवार आयोजित पत्रकार सम्मेलनमा एसपी पाण्डेले भने, ‘अघिल्लो दिनसम्म परीक्षा दिइरहेकी आकृति मंगलवार विद्यालय नपुगेपछि शिक्षक र स्थानीय अभिभावकले खोजतलास गरे। खोजतलासकै क्रममा बुधवार शव फेला परेको हो।’
प्रहरीका अनुसार आकृतिले लगाएको कपडा घुँडाभन्दा तल झारेर खुट्टा बाँधिएको र टाउको प्लास्टिकको बोरामा हालेर पुरिएको अवस्थामा शव भेटिएको थियो। ‘बलात्कारपछि ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको देखिन्छ,’ उनले भने, ‘अनुसन्धानका लागि चारजनालाई नियन्त्रणमा लिएकोमा एकजनाले चाहिँ आफैंले हत्या गरेको बयान दिएका छन्। रोशन राईले आफूले आकृतिलाई बलात्कार गरी हत्या गरेको स्वीकारेका छन्,’ एसपी पाण्डेले भने, ‘पक्राउ परेका अन्यलाई सोधपुछपछि छाडिएको छ।’ रोशन सूर्योदय–१३ लक्ष्मीपुरका हुन्।