चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले छिमेकी मुलुक चीन र भारतको सीमा नाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार वालुवाटारमा बसेका मन्त्रिपरिषद् बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा कोभिड १९ को रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिका निर्णय र तिनका कार्यान्वयनबारे समीक्षा भएको जनाइएको  छ । बैठकमा छिमेकी मुलुकसँगका विभिन्न सीमा नाका केही समयमा लागि बन्द गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।

चैत १० गते विहान १० बजेबाट एक साता अर्थात १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको हो ।

एकतर्फी हो कि सहमतिमा सीमा बन्दको निर्णय लिइएको भन्ने प्रश्नमा सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने, ‘अहिले हामीले सीमालाई स्थायी रुपमा बन्द गरेका होइनौं । यात्रुहरुको अवागमन मात्र रोकेका हौं ।’ लामो समयसम्म रोक्नुपर्ने अवस्था आएमा द्वीपक्षीय वार्ताबाट निर्णयमा पुगिने उनले बताए ।

यो निर्णय कार्यान्वयनसँगै नेपाल ‘लकडाउन’ हुनेछ । आइतबार मध्यरातबाट नै नेपाल भित्रिने अन्तर्राष्ट्रिय उडानहरुमा रोक लगाइसकेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै एक चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने घोषणा गरेका थिए । देशभित्र लामो दुरीमा यात्रुवाहक सवारी सञ्चालन पनि भोलि १० गतेबाट रोकिनेछ ।

बैठकले ५० करोडको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ । सवै मन्त्रीहरुको एक महिनाको तबल पनि कोषमा राखिने भएको छ। प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक आइतबार मन्त्रिपरिषद्को बैठक बसेको हो।

फागुन २१ गते प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार