‘लकडाउन’ नेपाल- काठमाडौंमा सुनसान, लकडाउन उल्लंघन गरे ६ महिना कैद

काठमाडौं कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताकालागि देशलाई ‘लकडाउन’ गरेको छ । साथै देशभरका नेपालीहरुलाई चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

लकडाउन कर्फ्यु जस्तो कडा हुँदैन । तर, लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ सय रूपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।

सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि आजदेखि अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिम रोक्न ‘लकडाउन’ गरिएसँगै काठमाडौं सुनसान बनेको छ ।

सडकमा मानिसहरु हिडेका छैनन् । अत्यावश्यक कामका लागि हिडेका मानिसहरुलाई पनि प्रहरीले सोधपुछ गरेर अवस्था हेर्दै गन्तव्यमा जान दिएको छ । अन्यथा सवैलाई रोक लगाएको छ । सडकमा अत्यावश्यकीय सवारी साधन ट्यांकर, प्रेसका गाडी, एम्बुलेन्स मात्र चलेका छन् ।

अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन संचालनमा पूर्ण रोक लगाइएको छ ।

अहिले चीन कोरोना संक्रमण रोकथाम गर्न सफल भइसकेको छ । तर, विश्वका १९४ देशहरुमा यसको संक्रमण फैलिइसकेको छ । कोरोना संक्रमणबाट १५ हजार बढीको ज्यान गइसकेको छ भने साढे ३ लाख बढी मानिसहरु संक्रमित भएका छन् । १ लाख भन्दा धेरै मानिसहरु उपचारपछि निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार