काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३० हजार ८ सय भन्दा बढी मानिसको मृत्यु भएको छ । आइतबार विहान ११ :३० बजेसम्म २ सय भन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ३० हजार ८ सय ८७ जनाको मृत्यु भएको हो ।
इटालीमा लकडाउन जारी रहेपछि स्कूल तथा बिश्वबिद्यालयहरुले अनलाइनमार्फत पठनपाठन गरिरहेका छन् । यस्तै अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय १५ जनाको मृत्यु भएको छ ।
हालसम्म अमेरिकामा १ लाख २३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १९ हजार १ सय ८७ जना नयाँ संक्रमित देखिएका हुन् ।
अमेरिकामा ३ हजार २ सय ३१ जना उपचारपछि निको भएका छन् भने १ लाख १७ हजार ८ सय ६९ जना उपचाररत छन् । कोरोना भाइरसको उद्भव मानिएको चीनमा पछिल्लो २४ घण्टामा कुनै नयाँ संक्रमण देखिएको छैन । यद्यपि त्यहाँ ३२ सय ९५ जनाको मृत्यु भइसकेको छ ।
स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ । एकैदिन अरु ८ सय ४४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ हजार नजिक पुगेको हो । थप ७ हजार ५ सय १६ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ७३ हजार २ सय ३५ पुगेको छ ।