नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

काठमाडौं, १ बैशाख – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २ जनामा कोरोना संक्रमण देखिएको हो ।

कैलालीको लम्कीचुहा घर भएकी ६५ वर्षीया महिला र रौतहटका १९ वर्षीय किशोरमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

देशभरि करिब ११ हजार जनाको कोरोना (कोभिड–१९) भाइरस परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, सोमबारसम्म १० हजार ९८२ वटा नमूना परीक्षण गरिएको हो ।५ हजार ६९१ जनाको पीसीआर र ५ हजार २ सय ९१ जनाको र्‍यापिड कीट विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

१३ औं केसको रुपमा कैलालीकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो भने रौतहटका युवकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएकी कैलालीकी ६५ वर्षीया महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । उनी चैतको दोस्रो साता मात्रै पर्साको वीरगन्जबाट कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित आफ्नो घर आइपुगेकी थिइन् ।

पछिल्लो पटक कैलाली र रौतहटमा थप २ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको हो । जसमध्येका १ जना उपचारपछि निको भइसकेका छन् ।

बाँकी संक्रमितमध्ये ५ जनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, ३ जनाको पर्साको वीरगन्जस्थित नारायणी अस्पताल, २ जनाको बाग्लुङको धौलागिरी अस्पताल तथा २ जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार