नेपालमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं, ५ बैशाख – नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२ वटा चितवनका २ वटा गरी १४ जना नयाँ संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार उदयपुरका १२ जना संक्रमित मुस्लिम समुदायका व्यक्तिहरु रहेका छन् । उनीहरुको उमेर क्रमश ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० वर्ष रहेको छ ।

यस्तै चितवनको क्रमश २७ र ६३ का व्यक्ति रहेका छन् । उनीहरु दुबै जना पुरुष भएको सहप्रवक्ता डा‍ अधिकारीले बताए । उनीहरुको विषयमा थप जानकारी लिन कन्ट्रयाक ट्रेसिङको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्बन्धित क्षेत्रका टोली खटाइसकेको सह प्रवक्ता डा अधिकारीको भनाइ छ ।

यसअघि प्रदेश एकको बिराटनगरमा रहेको कोशी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पनि उनीहरुमा कोरोना पोजेटिभ देखिएको थियो । यस्तै चिवतनका दुुइजनाको पनि चितवनमै परीक्षण गर्दा पीसीआरबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रदेशका प्रयोगशालाहरुमा पीसीआर विधिबाटै परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि संक्रमण पुष्टि गर्न प्रदेश सरकारले उनीहरुको थ्रोड स्वाबको नमूना केन्द्रीय प्रयोगशालामा पठाएका थिए । केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनीहरुमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले १४ जना संक्रमित थपिएको आधिकारीक रुपमा जानकारी दिएको हो ।

यसअघि नेपालमा १६जना कोरोना संक्रमित रहेको र ती मध्ये एक जना निको भइसकेका छन् भने १५ जना केन्द्र र प्रदेशका विभिन्न अस्पतालमा उपचारत छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् । अन्य संक्रमितहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार