उदयपुरका थप ११ जनामा कोरोनाको पुष्टि, नेपालमा संक्रमितको संख्या ४२ पुग्यो

उदयपुर, १० बैशाख –  उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका ११ जना स्थानीयवासीमा कोरोना भाइरसको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ४२ पुगेको छ ।

मंगलबार मात्रै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद टोलका थप ११ जनामा पनि कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो भने बाँकी ८ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ नतिजा देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।

कोरोनाको संक्रमण देखिएका ११ जनाको कोशी अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आज ९ जना पुरुष र २ जना महिला गरी ११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

आज पुष्टि भएका भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष, ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला गरी जम्मा ११ जना रहेका छन ।

हालसम्मको अध्यावधिक विवरण अनुसार नेपालमा कोभिड-१९ पुष्टी भएको संख्या ४२ पुगेको छ | संक्रमित ४२ मध्ये ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । विभिन्न अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको मन्त्रालयद्वारा विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार