श्रमिकलाई अविलम्ब राहत व्यवस्था गर्न काँग्रेस सभापति देउवाको आग्रह

काठमाडौं, १९ बैशाख – नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना रोकथामका लागि लागू गरिएको लकडाउनका कारण श्रमिकहरुले कष्टकर स्थिति भोगिरहेको उल्लेख गर्दै उनीहरुलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उनले श्रमिक वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको यस ऐतिहासिक दिनमा सम्पूर्ण श्रमिकहरुमा शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले अहिले पूरै विश्व कोरोना भाइरसको महामारीबाट प्रताडित भएका बेला नेपाल पनि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण लकडाउनको अवस्थामा रहेकाले सम्पूर्ण नागरिकको जीवन सहज हुन नसकेको उल्लेख गरेका छन् ।

सभापति देउवाले यो बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्नलगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको बताउँदै श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका हुन् ।

नेपालमा विसं २००३ मा विराटनगरमा मजदुरहरुको पहिलो ऐतिहासिक आन्दोलन हुँदा तत्कालीन सरकारले निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर काँग्रेसका संस्थापक जननायक बिपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो ।

सन्देशमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु यही मजदुर आन्दोलन भएको उल्लेख गर्दै कांग्रेस र मजदुरहरु सधैँ एकअर्कामा आवद्ध भइ एकअर्काका अनन्य सहयोगी भएर रहिआएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार