काठमाडौं, ३ जेष्ठ – थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । जसमा पर्साका ४ जना, दाङका ३ जना, काठमाडौंका १ जना र उदयपुरका १ जना रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा नयाँ पुष्टि भएकाहरुको संख्या ९ रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
पर्सा बीरगंज निवासी ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिला, उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा-४, ५ र तुलसीपुर ७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष र काठमाडौं सतुगंगलका ७ वर्षीय बालकमा शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यसअघि पनि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार मात्रै योसँगै १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।