खुशी कसरी मिल्छ ? खुसी हुनका लागी जान्नैपर्ने केहि महत्वपूर्ण कुराहरु

काठमाडौं, ३ जेठ – हामी पढेर परीक्षामा उच्च अंक हासिल गर्न चाहन्छौं । राम्रो जागिर खान चाहन्छौं । भौतिक सुख सुविधाले सम्पन्न हुन चाहन्छौं । आफ्नै घर, आफ्नै गाडी होस् भन्ने चाहन्छौं । आफन्त, साथीभाई सबैसँग समधुर सम्बन्ध होस् भन्ने चाहन्छौं । किन ? किनकी यी सबैबाट हामी खुशी प्राप्त गर्न चाहन्छौ । हाम्रा यी सबै प्रयास र अपेक्षाको एउटै गन्तव्य हो, खुशी ।

त्यतीमात्र होइन, हामी मिठो खानेकुरा खान्छौं । हामीलाई स्वाद लाग्छ । त्यसबाट प्राप्त गर्ने पनि खुशी नै हो । हामी राम्रो लुगा लगाउँछौ । सबैले राम्रो भनिदिन्छन् । त्यसबाट हुने पनि खुशी नै हो ।

हामी सन्तुलित खानेकुरा खान्छौं । व्यायाम गर्छौं । सक्रिय रहन्छौ । किन ? किनभने शरीरमा कुनै कष्ट नहोस् । दुःख नहोस् । अर्थात खुशी मिलोस् । खुशी नै जीवनको शक्ति हो । सौन्दर्य हो । तर, कहाँ पाइन्छ खुशी ? कसरी मिल्छ खुशी ?

हामी सोच्छौ पैसाले खुशी मिल्छ । धन दौलतले खुशी दिन्छ । हो, यसले हाम्रो जीवन यापनलाई सहज बनाउँछ । हाम्रा अप्ठ्यारा र समस्याहरु सल्टाइदिन्छ । जीवनलाई केही हदसम्म सहज बनाउँछ । यसर्थ यी माध्यम हुन्, स्रोत होइनन् ।

पैसाले खुशी मिल्छ भने सबैभन्दा धनाड्य संसारका सबैभन्दा बढी खुशी हुने थिए । जबकी विश्वका सबैभन्दा धेरै धनराशीका स्वामी र एउटा फुटपाथमा जीवन गुजार्ने व्यक्तिले प्राप्त गर्ने खुशीमा कतिपनि अन्तर छैन । एउटा अर्बपतिले करोडौं आर्जन गर्दा जति खुशी अनुभूत गर्छ, त्यती नै खुशी एउटा फुटपाथमा बस्नेले भरपेट खान पाउँदा गर्छ ।

यसर्थ खुशीको मात्रा र परिणामले न धनी भन्छ, न गरिब । न शक्तिशाली भन्छ, न कमजोर । खुशी त उही हो । अझ घतलाग्दो कुरा त खुशी बाहिर होइन, हामीभित्र छ । हामी आफु स्वयम् खुशीका स्रोत हौ ।

खुशी, किन्नुपर्दैन । खुशी, माग्नुपर्दैन । खुशी, चोरी डकैती गर्नुपर्दैन । किनभने यसको अथाह स्रोत हामीभित्र छ । नेपालीमा प्रचलित भनाई छ, भोक मिठो कि भोजन ? निद्रा मिठो कि ओछ्यान ? वास्तवमा कुनै भौतिक वस्तु वा उपलब्धी खुशी होइनन् । खुशीका स्रोत होइनन् । खुशी त हामीभित्र छ ।

खुशी कहाँ खोज्ने त ?

खुशी हुनु एक मानविय व्यवहार, प्रवृत्ति हो । हामी सधै खुशीको खोजीमा हुन्छौ । खुशीको खोजीमा नै हामीले खुशी पनि गुमाइरहेका हुन्छौ । किनभने हामीलाई लाग्छ, खुशी ति तमाम भौतिक कुरामा छन् जसको प्राप्तीले हामीलाई खुशी बनाउँछ ।

खुशी हुनका लागि हामीलाई पैसाको जरुरत पर्दैन । ऐश आरमको जरुरत पर्दैन । मिष्ठान्न भोजनको आवश्यक्ता पर्दैन । खुशी हुनका लागि केवल यसको स्रोत आफैभित्र छ भन्ने बुझे पुग्छ ।

खुशी किन हुने त ?

जब हामी खुशी हुन्छौ, प्रफुल्ल हुन्छौ, तब हामी आसपासको वातावरण पनि राम्रो हुन्छ । हाम्रा अघिल्तिर उभिएका मान्छे पनि प्रफुल्ल हुन्छन् । घर परिवारका सदस्य खुशी हुन्छन् । खुशीले खुशी विस्तार गर्छ ।

जब हामी खुशीको अवस्थामा हुन्छौ, हाम्रो मन शान्त हुन्छ । मस्तिष्क स्थिर हुन्छ । हामी फुरुंग हुन्छौ । यसले शरीरका विकारहरु हटाउँछ । रिस राग, घृणा, क्रोधको स्तर घटाइदिन्छ । अर्थात हाम्रो मनोविकार पखालिन्छ ।

यसर्थ हामी खुशी हुनुपर्छ । खुशी हामी आफैसँग छ । साना साना उपलब्धी, साना साना कुरामा पनि हामीले खुशी हुने प्रवृत्तिको विकास गर्नुपर्छ । किनभने खुशी नै संसारको सौन्दर्य हो ।

खुशी हुनका लागि घ्यान दिनुपर्ने कुराहरु :

१. गहिरो सास लिने गर्नुस्

दिनहुँ गहिरो सास लिने गर्नुभयो भने शरीरमा अक्सिजनको मात्रा बढ्न पुग्छ, जसले शरीरसँगै मनको विकारलाई पनि कम गरिदिन्छ ।

गहिरो सास लिँदा शरीरमा सकारात्मक भाव जगाउने खालका रसायन उत्सर्जन हुन्छन्, जसले तपाईंलाई प्रसन्न राख्न मद्दत गर्छन् ।

२. चाहना कम गर्नुस्

चाहना बढी गर्नुभयो भने जतिसुकै पैसा साथमा भए पनि पूरा गर्न सकिँदैन । चाहना पूरा गर्न सकिएन भने दुःखी भइन्छ । त्यसैले खुशी भइरहनका लागि चाहना कम गर्नुपर्छ ।

३. धेरै महत्वाकांक्षा नराख्नुस्

कुनै उद्देश्य राखेर यसका लागि आफूलाई क्रमशः तयार गर्दै लैजानु राम्रो हो । तर, चाँडै कुनै नतिजा हासिल गर्ने महवाकांक्षा राख्नुभयो भने यसले तपाईंलाई तनावमा राख्छ । यसले तपाईंको खुशी समाप्त पारिदिन्छ । त्यसैले बढी महवाकांक्षी नबन्नुस् ।

४. मुस्कुराउनुस्

हाँस्न, रमाइलो गर्न मन लाग्दैन भने पनि मुस्कुराउने प्रयत्न गर्नुस् । बिस्तारै यसलाई बानी बनाउन खोज्नुस् । हाँस्दै जानुभयो भने बिस्तारै यसैमा तपाईंको बानी पर्छ ।

हाँस्दाखेरि शरीरमा सकारात्मक भाव जगाउने रसायन उत्सर्जन पनि बढ्न थाल्छ, जसले तपाईंलाई क्रमशः खुशी बनाउँदै लैजान्छ ।

५. ऐना हेर्दा खुशी हुनुस्

ऐना हेर्दा नराम्रो कुरामा ध्यान दिन बिस्तारै छोड्नुस् । कपाल पातलो छ, अनुहारमा दाग छ, ओठ खुँडे छ अथवा यस्तै कुनै त्रुटि तपाईंको शरीरमा छ भने ऐना हेर्दा त्यस्ता कुरामा त्यति ध्यान नदिनुस् र ऐना हेरेर मुस्कुराउनुस् । दिनहुँ यसो गर्नुभयो भने तपाईं सकारात्मक बन्दै जानुहुन्छ र खुशी पनि बन्दै जानुहुन्छ ।

६. अरूले चाहेजस्तो नबन्नुस्

अरूले आफू कस्तो होस् भन्ने चाहन्छन् भन्दा पनि आफू कस्तो बन्न चाहन्छु भन्ने कुरालाई प्राथमकिता दिनुस् । अरूले हेभी मेकअप गरेको हेर्न चाहन्छन्, तर आफूलाई लाइट मेकअप गरेकै मन पर्छ भने आफ्नो चाहनाअनुसार चल्ने गर्नुस् ।

यसले तपाईंको मौलिकतालाई जोगाइराख्छ र तपाईंको मौलिकतासँग सहमत व्यक्तिको संगतमा तपाईंलाई पुर्याउँछ, जुन खुशी रहन सहायकसिद्ध हुन्छ ।

७. लाज नमान्नुस्

तपाईंले कुनै गल्ती गर्नुभएको छ अथवा अफू र आफ्नो परिवेशप्रति लाज महसुस हुने गरेको छ भने यस्तो लाज आजैदेखि त्यागिदिनुस् । यसले तपाईंलाई आत्मविश्वासी बनाउँछ ।

८. सिर्जनात्मक काममा लाग्नुस्

लेख्ने, पढ्ने, चित्र कोर्ने, नाच्ने, गाउने, खेल्ने, सिलाइबुनाइ गर्नेजस्ता सिर्जनात्मक काम गर्नुस् । सिर्जनात्मक काममा लागियो भने शरीरका नकारात्मक ऊर्जा सिर्जनात्मक ऊर्जामा परिवर्तन हुँदै जान्छन् र मन प्रसन्न रहन थाल्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार