रुकुममा वडाअध्यक्षको नेतृत्वमा प्रहरी चौकीमा आक्रमण

काठमाडौं, २१ जेठ – मंगलबार साँझ रुकुमको मुसिकोट नगरपालिका–१४ स्थित छिवाङ ज्युउलामा रहेको अस्थायी प्रहरी चौकी आक्रमण भएको छ । मुसिकोट नगरपालिका–१३ का वडाअध्यक्ष दिपक केसीको नेतृत्वमा चौकी आक्रमण भएको हो । मादप पदार्थ सेवन गरेका वडाअध्यक्ष केसीले २५ जनाको युवा समूह लिएर साँझ चौकी आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणपछि उनीहरु फरार भएका छन् ।

खाना खाइरहेको समयमा आक्रमणकारीहरुले चौकीको पोष्ट भत्काउनुको साथै २ प्रहरी जवानलाई समेत कुटपिट गरेको कर्णाली प्रदेशका डीएसपी तथा प्रवक्ता लोकनाथ तिम्सिनाले बताए ।

आक्रमणकारीहरुले प्रहरीको हतियार समेत खोसेको उनको भनाइ छ । तर पछि प्रहरीले बल प्रयोग गरि हतियार फिर्ता गरेको प्रवक्ता तिम्सनाले बताए । चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा आठ जना प्रहरी कार्यरत छन् ।

जनप्रतिनिधि भए पनि केसी पटक पटक गुण्डागर्दीमा समावेश हुँदै आएका छन् । केसीले पूर्व गृहमन्त्री एवं नेकपाका पोलिटव्यूरो सदस्य जनार्दन शर्माको आडमा गुण्डागर्दी गर्दैै आएको दावी स्थानीयहरुको छ ।

प्रहरी कार्यालयमा आक्रमण र तोडफोड भएको पाएपछि रुकुम पश्चिमका डीएसपी ठगबहादुर केसीले जनपथ र सशस्त्रका थप सुरक्षाकर्मी घटनास्थलमा पठाएको बताएका छन् ।

घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको रुकुम प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार