काठमाडौं, २५ जेठ – पछिल्लो २४ घण्टामा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए ।
नयाँ संक्रमितमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् । नेपालमा कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
कुन प्रदेशमा कति संक्रमित ?
नेपालमा कोरोना भाइरस संक्रमित प्रदेश १ का १२ जिल्लामा २ सय ५९ जना रहेका छन् । त्यसैगरी प्रदेश २ का ८ जिल्लामा एक हजार १ सय ६१ जना, बागमती प्रदेशका १२ जिल्लामा ९२ जना रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशका ९ जिल्लामा एक सय ११ जना, प्रदेश ५ का १२ जिल्लामा १ हजार ८१ जना रहेका छन् ।
त्यस्तै कर्णाली प्रदेका ९ जिल्लामा ६ सय ३३ जना र सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा १ सय ११ जना संक्रमति भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।
रोल्पामा पनि संक्रमित थपिएसँगै देशभरका ७१ जिल्लामा कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म १३ जनाको मृत्यु
संक्रमितमध्य नेपालमा हालसम्म १३ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
नेपालमा कोरोनाका कारण हालसमम सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।
त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।
यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष र सेती प्रादेशिकअस्पतालमा उपचाररत ५५ वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।