पसल खुल्ने, निजी सवारीसाधन जोरबिजोरका आधारमा चल्न दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, २८ जेठमन्त्रिपरिषद्को वुधबार बसेको बैठकले लकडाउनको मोडालिटी परिमार्जन गरेर क्रमशः चरणबद्ध रुपमा खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ । मन्त्रिहरुको सुझावलाईसमेत ध्यानमा राखेर परिमार्जित मोडालिटीलाई प्रधानमन्त्री केपी ओलीले विहीबार बिहान अन्तिम रुप दिएपछि दिउँसो ३ बजे पत्रकार सम्मेलनमा सरकारका प्रवक्तामार्फत विस्तृतमा सार्बजनिक गरेर जानकारी दिइने एक मन्त्रीले बताए ।

उनका अनुसार बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ। यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागू गरिने छ । विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् ।

बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनि खुकुलो पार्ने निर्णय गरेको हो । ‘ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको छ । ती सवारी साधन जोर-बिजोर प्रणालीमा संचालन हुनेछन् । लामो रुटकालाई भने अहिले अनुमति नदिने भनिएको छ,’ उनले भने ।

यसैगरी  यस वर्षको एसईई परिक्षा नगर्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले विद्यालयहरुले संचालन गरेको आन्तरिक परिक्षाको मूल्यांकनलाई नै आधार मानेर प्रमाणपत्र जारी गर्नेगरी एसईई परिक्षा नगर्ने निर्णय भएको हो ।

जनजीवन सहज पार्नका लागि मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र लकडाउन खुकुलो पार्ने मोडालिटीका विषयमा बिहीबार मात्रै विस्तृत रुपमा सार्वजनिक गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार