काठमाडौं, ३१ जेठ – कतारबाट ५ हजार १ सय १२ जना नेपालीहरू स्वदेश फर्किने भएका छन् । नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको विवरणअनुसार रोजगारी गुमाएका, जटिल स्वास्थ्य अवस्था भएका, आफन्तको मृत्यु भएपछि शोकमा परेका नेपाली, अध्ययन समाप्त भएका विद्यार्थीसहित ५ हजार ११२ जना नेपाली स्वदेश फर्किन लागेका हुन् ।
उनीहरूलाई जुन १६, १७, २० र २२ तारिखमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडानहरुबाट स्वदेश फर्काइने दूतावासले जनाएको छ । ४९० अमेरिकी डलर तोकिएको हवाई टिकटको मूल्य फर्कन चाहने आफैँले तिर्नु पर्ने व्यवस्था गरिएको छ ।
प्राथमिकतामा परेका यात्रुको नामावलीसहित उडान अनुमतिको प्रक्रिया पूरा भएपछि उनीहरुको नामावली प्रकाशित गरिने दूतावासले जनाएको छ ।