इन्भेष्टमेन्ट बैंकले ८७ लाख ४९ हजार युरो इटालीबाट पायो, बाँकी पैसा दाेसर्ाे किस्तामा

काठमाडौं — इटालीमा मुद्दा जितेपछि नेपाल इन्भेष्टमेन्ट बैंकले त्यहाँको बैंकबाट एक किस्ता बुधबार बिहान बुझेको छ। बैंकले ८७ लाख ४९ हजार युरो बिहान बुझेको हो। बाँकी पैसा आजै साँझसम्म आइसक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले जानकारी दिए।

बैंकले गत साता २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको थियो। इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले न्याय पाएको थियो। मुद्दा जितेपछि त्यहाँको बैंकले पैसा फिर्ता गर्न सुरु गरेको हो।

तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी इ केमेन्टिस्टी (सीएमसी) ले कार्यसम्पादनका लागि ग्यारेन्टी दिएको थियो। तर कम्पनीले भने अनुसार काम गरिरहेको थिएन।

कम्पनीले काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीवापतको रकम बैंकसँग दाबी (क्लेम) गरेको थियो। उत्तिनै बेला इन्भेष्टमेन्ट बैंकले दाबी भुक्तानी गरिदिएको थियो।

सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो। अदालतको एकल इजलासले सुरुमा इन्भेष्टमेन्ट बैंकलाई हराइदिएको थियो। बैंकको तर्क नसुनी एकपक्षीय निर्णय भएको भन्दै इन्भेष्टमेन्ट बैंकले पुनरावेदन गरेको थियो।

कोभिड-१९ का कारण मुद्दाको फैसला ढिलाइ भइरहेको थियो। अन्ततः तीन न्यायाधीशको संयुक्त इजलासले बैंकको पक्षमा फैसला गरिदिएको थियो।

सीएमसीले नेपाल इन्भेष्टमेन्ट बैंक, तनहुँ हाइड्रोका साथै इटालीस्थित इन्टेसा सानपाउलो बैंकलाई मुद्दा हालेको थियो। मुद्दा परेपछि इटलीको बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको रकम फिर्ता गरेको थिएन।

बैंकले नेपाली र युरोमा कार्य सम्पादन ग्यारेन्टी दिएको थियो। बैंकले ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार युरो ग्यारेन्टी दिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार