नेपालमा शनिबार थप ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ५०२

काठमाडौं,३ श्रावण – नेपालमा शनिबार थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ३ हजार ३३१ जनाको पीसीआर गरिएकोमा ५७ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको छ।

आज कहाँ कति थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मोरङका ९ जना, तेह्रथुम २ जना, ईलामका १ जना, झापाका १ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी  बाराका १ जना, सर्लाहीमा २ जना, नुवाकोट १ जना, बाग्लुङ १ जना, पर्वत १ जना, गुल्मीका २ जना, पाल्पाका २ जना, दैलेखका ५ जना, सल्यान १ जना, रुकुम पश्चिमका ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी डडेल्धुराका २ जना, बझाङका २ जना, डोटीका ७ जना, कैलालीका १३ जना, कञ्चनपुरका १ जना गरी बितेको २४ घण्टामा नेपालमा ५७ जनामा कोरोना पुष्टि भएको छ ।

कुन प्रदेशमा कति संक्रमित ?

देशका विभिन्न अस्पतालहरुमा उपचाररत संक्रमितहरुमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा रहेका छन् । जहाँ २ हजार ३ सय ५२ जना संक्रमित रहेका छन् भने सबैभन्दा कम प्रदेश नं १ मा ७९ जना रहेका छन् ।

प्रदेश नं १ मा ७९ जना

प्रदेश नं २ मा १ हजार ८ सय ४४ जना

बाग्मती प्रदेशमा ४ सय ११ जना

गण्डकी प्रदेशमा ४ सय ८ जना

प्रदेश नं ५ मा ४ सय १४ जना

कर्णाली प्रदेशमा ३ सय १७ जना

सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना

२४ घण्टामा थप १०३ जना कोरोना संक्रमणमुक्त

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ६३७ पुगेको छ ।

कुल सङ्क्रमितमध्ये ६६ दशमलव १२ प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको हो । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

सक्रिय एउटा पनि केस नभएका जिल्लामा भोजपुर, पाँचथर,रसुवा, मनाङ, मुस्ताङ र हुम्ला रहेको पनि उनले जानकारी दिए । यस्तै रौतहट, कैलाली, र बाजुरामा पाँच सयभन्दा धेरैका दरले सङ्क्रमित रहेकाे मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा आफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार