प्रधानमन्त्री ओलीको अभिव्यक्तिले, भारतमा नेपाली युवकको कपाल मुण्डनगरी दुर्व्यवहार

बनारस, ३ श्रावण – भारतको बनारसमा एक नेपाली युवकको जबर्जस्ती कपाल मुण्डन गरी दुर्व्यवहार गरीएकाे छ । नेपालीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हालसम्म चार जनालाई पक्राउ गरेको छ। गएको २९ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि अयोध्या भारतमा नभई नेपालको ठोरीमा भएको अभिव्यक्ति दिएपछि त्यसको विरोध गर्दै बनारसमा हिन्दूवादी संगठनले नेपाली युवकको कपाल मुण्डन गरी टाउकोमा ‘जय श्रीराम’ लेखेका थिए ।

कपाल मुण्डन र नाराबाजीसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि भारतीय प्रहरीले घटनामा संलग्नविरुद्ध कारबाही थालेको हो ।

बनारस प्रहरीले त्यहाँको भेलुपुर थानामा पाँच जना विरुद्ध एफआईआर दर्ता गरेको थियो । तीमध्ये सन्तोष पाण्डे, आशिष मिश्रा, राजु यादव र अमित दुबेलाई पक्राउ गरिएको बनारस प्रहरीका एसएसपी अमित पाठकलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम द वायरले लेखेको छ।

भिडिओ खिच्ने पाण्डेयलाई शुक्रबार अपराह्न पक्राउ गरिएको थियो। प्रहरीका अनुसार पाण्डेले नै भिडियो खिचेको र उनको मोबाइलबाट भिडियो समेत बरामद भएको जानकारी दिएको छ ।

घटनाका मुख्य आरोपित अरुण पाठक भने फरार छन् । प्रहरीका अनुसार उनले नेपाली युवकको कपाल मुण्डन गरिएको र नेपालका प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए ।

घटनालाई गम्भीरतापूर्वक लिँदै प्रहरीले संलग्नविरुद्ध कडा कारबाही गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार