काठमाडौं, ७ श्रावण – कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत् एक चिनियाँ नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हाे।अस्पतालका निर्देशक डा. रोहित पोखरेलले ५८ वर्षीया चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे।
योसँ गै संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो।
बुधबार देशभर कोरोनाका १ सय संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
बुधबार थपिएकासहित देशभर हालसम्म संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ। त्यस्तै २४ घण्टामा २ सय ७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कुल १२ हजार ६ सय ८४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।
अब विभिन्न अस्पतालमा ५ हजार ३ सय ७० संक्रमित उपचाररत छन्। मन्त्रालयका अनुसार विगत २४ घण्टामा मुलुकका विभिन्न प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ३ लाख २७ हजार बढीको पिसिआर परीक्षण भएको छ।