काठमाडौं, ९ साउन – सत्तारुढदल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन गरेको दाबी गरेका छन् । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्मचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्ड प्रधानमन्त्री ओलीमाथि आक्रमक देखिएका हुन् ।
पार्टीमा अब के हुन्छ ? महाधिवेशन हुन्छ कि हुन्न ? पार्टी विभाजन त हुने होइन भन्ने आम कार्यकर्ताको जिज्ञासाप्रति जानकार रहेको भन्दै उनले केही प्रश्न उठाएका छन् ।
कम्युनिस्ट पार्टी भनेको सामूहिक नेतृत्वमा चल्ने र व्यक्तिगत जिम्मेवारी लिएर हिँड्नुपर्ने भन्दै उनले भने, ‘हामी सामूहिक नेतृत्वमा चल्न सक्यौं कि सकेनौं भनेर हेर्ने हो, दुई वर्षसम्म केन्द्रीय कमिटीको बैठक बस्न सकिएन । जबकि ६/६ महिनामा केन्द्रीय कमिटी बैठक बस्ने विधानको व्यवस्था छ, हामी त्यहाँ चुक्यौं ।’
‘समस्या आउँदा सामूहिक छलफल गर्ने र जे निचोड आउँछ, त्यसको पालन गर्ने अपनायौं कि अपनाएनौं भन्दा बैठक नै नबसेपछि सामूहिक छलफल भएन ।’
प्रचण्डले अहिले पार्टी गम्भीर संकटमा रहेको बताए । त्यसको कारण अर्का अध्यक्ष ओली भएको उनले संकेत गरे । उनले भने, ‘पार्टी संकटमा छ किनकि हाम्रो बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षको समेत सक्रियता र पहलमा भएको छ ।’
उनले अघि भने अहिले देशभर केही कार्यकर्तालाई नारा जुलुसमा लगाउने कोसिस भएको छ । हामीले पार्टीमा छलफल गरिरहेका छौं तर देशभरि जुलस भएको छ ।’
नेकपा स्थायी कमिटी बैठक चलिरहेका बेला १४ असारमा निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको थियो भने स्थायी कमिटीमा प्रचण्डसहितका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि सडक प्रदर्शन भएको थियो । यद्यपि अहिले सडक प्रदर्शन रोकिएको छ ।
पार्टी एकताको वैचारिक आधारमा माक्र्सवाद, लेनिनवादलाई निर्देशक सिद्धान्त मानेको र जनताको बहुदलीय जनवाद, २१ औं सताब्दीमा जनवाद र माओवादसम्बन्धी मान्यतालाई विकसित गर्नुपर्छ भन्दै समाजवाद उन्मुख जनताको जनवादलाई अहिलेको राजनीतिक कार्यदिशा भनेको उनले उल्लेख गरे । उनले भने, तर अहिले कताकता फेरि पछाडि फर्किन खोजेका संकेतहरु देखिएका छन् ।
‘अब मैले माओवाद जिन्दावाद भन्न थालेँ वा अर्कोले जनताको बहुदलीय जनवाद जिन्दावाद भन्न थाल्यो भने पार्टी एकतालाई प्रवर्धन गरेको ठहरिँदैन’ उनले भने ।
‘एकताप्रति माया छैन भने कहिँ न कहिँ एकतामा क्षति पुग्ने गतिविधि गर्नुपर्छ । सामूहिक निर्णयप्रति विश्वास छैन भने व्यक्तिगत फैसलालाई नै सर्वोपरी ठान्नुहुन्छ । र, त्यसो गरियो भने एकतालाई निरन्तर गति दिन सम्भव हुन्न ।’
अहिले पार्टीमा अहिले भइरहको बहस पदको झगडा नभई विचार, विधि र पद्धतिको भएको र आफूहरूले एकताका निम्ति पहल गरिरहेको उनले बताए । ‘हामी अहिले कुनै पनि स्थितिमा पार्टी विभाजन हुनबाट रोक्न अन्तिम दमसम्म प्रयास गर्दैछौं र पार्टी विभाजन हुन दिइने छैन’ प्रचण्डले भने, पार्टीलई एकताबद्ध राखिनेछ । विचार केन्द्रित बनाएइनेछ, विधि र पद्धतिमा चल्ने बनाइनेछ ।’