काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३१ नेताले सामूहिक राजीनामा दिएका छन् । पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै पूर्वमन्त्रीसमेत रहेका सुनील बहादुर थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३१ जनाले सामूहिक राजीनामा दिएका हुन् ।
नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।
पार्टीमा गणतन्त्रको पक्षमा वकालत गर्दै आएका थापाले राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई शनिबार राजीनामापत्र बुझाएका छन् । थापासँगै राप्रपाको धनकुटा जिल्ला, नगर तथा गाउँ इकाइ समितिका सबै सदस्यले राप्रपा परित्याग गरेका छन् ।
उनीसँगै राप्रपाका केन्द्र र जिल्लाका ३१ जना नेताले पार्टी परित्याग गरेका हुन् । संघीयता र गणतन्त्रको पक्षपाती रहँदै आएका थापा राप्रपाले लिएको राजतन्त्र र संघीयताविरोधी लाइनप्रति असन्तुष्ट थिए । थापा राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य थिए । थापासँगै केन्द्रीय सदयहरू विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साहले पार्टीबाट राजीनामा दिएका छन् ।
धनकुटास्थित राप्रपाका जिल्ला कार्यसमिति, नगर, गाउँ, क्षेत्रीय इकाइ समितिका सबै पदाधिकारीले पार्टीबाट राजीनामा दिएका छन् । यसैगरी पार्टी छाड्नेहरूमा वीरेन्द्रलाल कर्ण, नारायण राउत, इन्द्रबहादुर तामाङ, राजकुमार भट्टराई, डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्रप्रसाद यादव, रूपनारायण यादव, भिखारीलाल यादव,महेन्द्र बस्नेत, गोपी ठकुरी, डोलनाथ आचार्य, दबिबल तामाङ, मदन घिमिरे, ध्रुव थापा छन् ।
संस्थापक नेता सूर्यबहादुर थापा नेतृत्वको राप्रपाको एक समूहले विगतमा गणतन्त्रका पक्षमा निर्णय गरेको थियो । राप्रपामा कमल थापा नेतृत्वको समूहबाहेक विगतमा अध्यक्ष पशुपतिशमशेर राणा र अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलगायतका नेता गणतन्त्रका पक्षपाती थिए । थापा सुशील कोइराला नेतृत्वको सरकारका पालामा आपूर्ति तथा वाणिज्यमन्त्री थिए । उनले संविधानसभामा गणतन्त्रका पक्षमा मतदान दिएका थिए ।
पार्टीले संस्थापक अध्यक्ष स्व. सूर्यबहादुर थापाको नेतृत्वमा उदार प्रजातान्त्रिक दृष्टिकोण एवं परिवर्तनलाई आत्मसात् गर्ने नीतिको अनुशरण गर्दा राप्रपा कुनै समय देशको तेस्रो ठूलो दल तथा सही अर्थमा वैकल्पिक प्रजातान्त्रिक शक्ति भएको, तर अहिले पार्टी नेतृत्व गलत दिशामा गएको उनले आरोप लगाएका छन् ।
थापाले भनेका छन्, ‘पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको निधनपश्चात् पार्टीले सबल नेतृत्व मात्रै गुमाएन, पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा पनि विचलन देखापरेको छ । जसका कारण पार्टी दिशाहीन बनेको छ ।’
एकातिर पार्टी नेतृत्व गणतान्त्रिक व्यवस्था स्वीकार गरेर सरकारहरूमा सहभागी हुने, संविधान उत्कृष्ट भएको प्रचारप्रसारमा सामेल भएको छ भने अर्कातिर आमसहमतिको राजसंस्थासहितको प्रजातन्त्रको अति अमूर्त र असम्भव एजेन्डालाई पनि छोड्न नसकेको उनको आरोप छ । राप्रपाको द्वैध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले शर्मनाक पराजय भोग्नुपरेको पनि थापाले आरोप लगाएका छन् ।
थापाले संविधान निर्माणमा निःसर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य भइरहेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । उनले भनेका छन्, ‘स्वार्थ र परिस्थितिअनुकूल विचार, सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रति आमरूपमा विश्वास समाप्त भएको मात्र छैन, संस्थापकहरूको सपनामा पनि ठेस पुगेको छ ।’
पार्टी संस्थापकहरूले देखाएको सपना, परिवर्तनप्रति पार्टीको प्रतिबद्धता र आमजनमतविपरीत पार्टी गएकोमा खबरदारी गर्दै आएको, तर पार्टीले सुनुवाइ नगरेको थापाको आरोप छ । थापाले राजीनामापत्रमा भनेका छन्, ‘उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा प्रजातान्त्रिक पद्धतिका पक्षमा निरन्तर रहने गरी हामी आजका मितिदेखि राप्रपाको सबै भूमिका र तहबाट अलग भएको घोषणा गर्दछौँ ।’
पूर्वमन्त्री थापा नेपाली कांग्रेस प्रवेश गर्ने तय भएको छ । थापा मंगलबार कांग्रेस प्रवेश गर्न लागेको कांग्रेसनिकट स्रोतले जनाएको छ । उनी हाल धनकुटामा छन् ।