नेपालभर थपिए २२४ कोरोना संक्रमित, थप चारको मृत्यु

काठमाडौं, १६ श्रावण – पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाकाे मृत्यु भएको छ ।

यो नेपालमा २४ घण्टामा गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै परीक्षण हो । स्वस्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंका ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५/१५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बाराका ४ जना, रौतहट, कास्की, दाङ र डोटीका ३/३ जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका २/२ जना तथा भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, रुपन्देही र बाँकेका एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृतक सबै वीरगञ्जका हुन् । उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पतालमा मृत्यु भएको हो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

नेपालमा संक्रमितको कुल संख्या भने १९ हजार ७७१ पुगेको छ । उनीहरुमध्ये १४ हजार ३९९ निको भइसकेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार