काठमाडौं, २३ साउन – बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका नयाँ संक्रमित भेटिएका हुन्। यीसहित हालसम्म संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा २ सय ३३ जना कोरोनामुक्त भई घर फर्किएका छन्। प्रवक्ता गौतमले हालसम्म १५ हजार ३ सय ८९ जना कोरोनाबाट निको भएको जानकारी दिए। हालसम्म ४ लाख १९ हजार बढीको पिसिआर परीक्षण भएको छ।
त्यसैगरी काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना संक्रमति थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ७६, ललितपुरमा १० र भक्तपुरमा एक जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढेको भन्दै अप्ठ्यारो परिस्थिति तयार भएको जनाएको छ। हालसम्म कोरोना संक्रमणका कारण ६५ जनाको मृत्यु भएको छ ।