पाल्पा, २८ श्रावण – पाल्पाको गल्धामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। निस्दी गाउँपालिकाको गल्धामा लु १ ज २८८७ नम्बरको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा स्थानीय ६३ वर्षीय ठाकुरप्रसाद फाल र ३ महिने नाम नखुलेका बालकको घटनास्थलमै मृत्यु भएको छ। जीप सडकबाट सातसय मिटर तल खसेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये निस्दी ५ पटाकसरकी ३७ वर्षीया सुमित्रा सारु र ३६ वर्षीया शेरमति सारूको अवस्था गम्भीर रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा निस्दी ३ की विष्णुमाया सारू, निस्दी ५ की लक्ष्मी सारू, सोही ठाउँकी तिल कुमारी सारू र निस्दी ४ झ्यालटुङकी श्रृजना गैरे घाइते घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको छ ।
मंगलबार राति दुर्घटना भएको जीपमा १० जना सवार थिए। घाइतेलाई उपचारका लागि सदरमुकाम तानसेन लगिएको छ। दुर्घटनापछि जीप चालक फरार भएका छन्।